मधेस - मधेस प्रदेशमा पछिल्लो समय व्यापक तस्करी भइरहेको पाइएको छ। मधेस प्रदेशमा खुलेआम तस्करी भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयमा रहेको ‘हेलो सरकार’मा उजुरीका चाङ छन्। प्रहरी निकायकै मिलोमतोमा मधेस प्रदेशमा तस्करी भइरहेको किटानी गर्दै हेलो सरकारमा उजुरी दिइएको छ।
प्रधानमन्त्री कार्यालय मातहत रहेको ‘हेलो सरकार’ १ महिनाभित्रमा दर्जनभन्दा बढी उजुरी परेका छन्, जसमा तस्करी हुने नाका र तस्करका नाम नै किटान गरिएको छ। ‘हेलो सरकार’मा परेका ती उजुरीमा लेखिएको छ– ‘वीरगंजको मुख्य नाका इनर्वादेखि लिएर पर्साका ग्रामिण भेगमा रहेका नाकाहरू भिस्वा, अमरपट्टि, प्रसौनी भाठ्ठा, खेस्राहाबाट तस्करी भइरहेको छ। यो सबै प्रदेश प्रहरी, जिल्ला प्रहरी र स्थानीय प्रहरीको मिलोमतोमा भइरहेको छ। यसमाथि छानबिन होस्!’
बारामा भइरहेको तस्करीबारे पनि ‘हेलो सरकार’मा उजुरी छ। उजुरीमा भनिएको छ– ‘पछिल्लो समय बारा जिल्लाबाट व्यापक रूपमा तस्करी भइरहेको छ। यहाँका मटिअर्वा, जोतपुर, बसतपुर, तिलकुवा, कचोरवा, गोलागंज, खजानी, पथलवाघाट, सिम्रौनगढ र क्वहीगोठबाट बढी तस्करी भइरहेको छ।’
हेलो सरकारमा परेका उजुरीहरूमध्ये पर्सा र बाराका यी नाकाहरू उदाहरण मात्र हुन्। यी २ जिल्लाबाहेक अन्य जिल्लाको अवस्था पनि उस्तै छ। स्रोतका अनुसार मधेस प्रदेशका ८ वटै जिल्लामा भारतबाट खुलेआम तस्करी भइरहेको छ। फरक यति छ कि कहीँ कम छ भने कहीँ बढी। अन्य जिल्लाभन्दा बढी पर्सा, बारा, सर्लाही, धनुषा र महोत्तरीबाट बढी तस्करी भइरहेको स्रोत बताउँछ। द नेपाल टप दैनिकबाट