चिठ्ठी लेखेरै चोर्‍यो चोरले नेपाली चित्रकारको १८ लाख डलरको चित्रकला

काठमाडौँ - नेपाली कलाकार प्रतिक रायमाझीको करिब १८ लाख अमेरिकी डलरको चित्रकला चोरी भएको छ। चोरले उक्त चित्रकला चोरेर आफूलाई चित्रकला साह्रै मन परेको र किन्नको लागि पैसा नभएका कारण चोरेर लगेको हुँ भनि चिठ्ठी समेत लेखेर छोडेको भेटिएको छ।

अमेरिकाको नेवास्कामा ओमाहामा रहेको सिटी लाईट आर्ट प्रोजेक्ट ग्यालरीबाट उनको चित्रकला चोरी भएको हो। चित्रकार रायमाझीका अनुसार उक्त ग्यालरीमा उनले २८ मार्चमा एकल चित्रकला प्रदर्शनी गर्ने भनि ३१ वटा चित्रहरु राखेका थिए र ती सबै चित्रकला चोरी भएका हुन्।

चोरी भएका ३१ मध्य २९ वटा मिथिला चित्रकला रहेको छ। चित्रकार रायमाझीका अनुसार ती चित्रहरु तयार गर्न उनलाई तीन वर्ष लागेको थियो। उनले बनाएका सबै चित्रहरु हिन्दु धर्ममा आधारित थिए। उनका अनुसार चित्रकला प्रदर्शनीको तयारी गरिहेको बेला ग्यालरीको सम्पूर्ण सुरक्षा उपकरणहरु निष्कृय तुल्याएर चित्रकलाहरु चोरी गरिएको थियो। ती ३१ मध्यको २ चित्रकला रोशन विकको रहेको समेत रायमाझीले बताए।

प्रदर्शनमा राखिएका ती चित्रकलाहरुको मूल्य ५० देखि ५५ हजार अमेरीकी डलर राखिएको रायमाझीले बताए। उनले ती चोरी भएको चित्रकलाको क्षतीपूर्ती स्वरुप बिमा कम्पनीहरुसँग १८ लाख अमेरिकी डलर दाबी गरेका छन्।

यसै गरि चोरले छोडेर गएको चिठ्ठी ग्यालरी सफा गर्ने क्रममा सोमबार भेटिएको थियो। उक्त चिठी पनि निकै रोचक रहेको छ। चोरले उक्त चिठीमा ती चित्रहरु यस अघि आफूले सोही ग्यालरीमा देख्दा निकै मन परेको बताइएको छ। चित्रकलामा समेटिएका हिन्दु धर्म र मिथककोबारेमा आफूले अध्ययन गरेर चित्रकलकाबारेमा थप बुझ्ने भनि चिठ्ठीमा चोरले उल्लेख गरेको पनि चित्रकार रायमाझीले बताए। त्यसै गरि चोरले चिठ्ठीमा आफूले चोरेको ती चित्रकला जीवनकालमा बिक्री नगर्ने पनि बताएका छन्। चोरले पहिलो पटक आफुले ४ अगष्टमा ति अनौठा चित्रहरु देखेको र त्यतिबेलादेखि योजना बनाएर बल्ल चोर्न सफल भएको पनि चिठ्ठीमा उल्लेख छ। चिठ्ठीमा चित्रकलाको खोजी नगर्नु भरेर अनुरोध समेत गरिएको छ।

चित्रकार रायमाझीले यस अघि ४ अगष्टमा आफ्ना करिब तीन दर्जन चित्रकला सोहि ग्यालरीमा प्रदर्शन गरेका थिए। यसरी चिठी नै लेखेर छाडी चोरी गर्ने ती चोरलाई रायमाझीले कलाप्रेमी बौद्धिक चोर भनि उपमा दिएका छन्।

उनले २८ मार्चबाट गर्ने भनिएको चित्रकला प्रदर्शनी अब तोकिएको मितीमा नहुने पनि जानकारी गराएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×