एक घर एक धारा अभियानपछि तरकारी खेती

तनहुँ । खानेपानी समस्या रहेको तनहुँको देवघाट गाउँपालिका–२ ब्यागनमा एक घर एक धारा अभियानले स्थानीयको जीवनयापन सहज बनाएको छ ।

जिल्लाको दुर्गम भनेर चिनिने देवघाट गाउँपालिकाको ब्यागनमा एक घर एक धारा अभियान सम्पन्न भएपछि विस्थापित भएका झण्डै १ दर्जन मानिस गाउँ फर्किएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी दिए । उनले भने, ‘विकासले मानिसलाई यति धेरै प्रभावित बनाउँदो रहेछ ।’

गण्डकी प्रदेश सरकारको १ करोड ५८ लाख रुपैयाँ आर्थिक सहयोगमा दुर्गम बस्तीमा अभियान सम्पन्न भएको हो । कुँवाको एक गाग्री पानी भर्न कठिनाई भोग्नुपर्ने घरघरमा पानीको धारा जडान गरेपछि स्थानीयलाई निकै सहज भएको छ । सोही वडाको छिपछिपे भञ्ज्याङ घोप्रे खोलाबाट मुल ट्यांकीसम्म ७ किलोमिटर टाढाबाट पानी ल्याएर वडावासीलाई वितरण गरिएको वडाध्यक्ष आलेले जानकारी दिए ।

गाउँमा २४ सै घण्टा धारामा पानी आएपछि स्थानीय निकै खुशी छन् । उनले भने, ‘अहिले घरघरमा पानी पुगेपछि स्थानीय व्यावसायिक तरकारी खेतीतर्फ अग्रसर हुन थालेका छन् ।’ आयोजनाबाट त्यस क्षेत्रका ५२ घरधुरीका करीब ३०० मानिस लाभान्वित भएका छन् । वडाका अन्य केही बस्तीमा पनि खानेपानीको समस्या रहेको र लिफ्टीङको लागि आवश्यक पहलकदमी भइरहेको वडाध्यक्ष आलेले  बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×