आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर आगामी जनवरीको पहिलो साता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले जारी गरेको विज्ञप्तिअनुसार ट्रफी टुर जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा सञ्चालन हुनेछ।
भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि सुरु हुन लागेको टी–२० विश्वकपको प्रचार–प्रसारका लागि आयोजना गरिएको यस ट्रफी टुर अन्तर्गत नेपाली क्रिकेट प्रेमीहरूले विश्वकप ट्रफी नजिकबाट अवलोकन गर्ने अवसर पाउनेछन्। ट्रफी टुरको विस्तृत कार्यक्रम, स्थान र गतिविधिबारे जानकारी क्यानले अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्ने जनाएको छ।
नेपालमा यसअघि सन् २०१८ मा ओडिआई विश्वकपको ट्रफी काठमाडौं र पोखरामा प्रदर्शन गरिएको थियो। तर टी–२० विश्वकपको ट्रफी भने पहिलोपटक नेपाल ल्याउन लागिएको हो, जसले नेपाली क्रिकेट इतिहासमा विशेष महत्व राख्ने क्यानले जनाएको छ।
डीपी वर्ल्डको सहकार्यमा भारत र श्रीलंकालाई जोड्ने ऐतिहासिक एडम्स ब्रिज (राम सेतु) माथिबाट औपचारिक रूपमा सुरु गरिएको ट्रफी टुर नेपालसहित विभिन्न देशमा घुमाइँदै विश्वकपको उत्साह फैलाइँदैछ।