काठमाडौँ - दक्षिण भारतीय अभिनेता धनुष अहिले आफ्नो फिल्म ‘द ग्रे मेन’को प्रचारमा व्यस्त छन्। २२ जुलाईबाट रिलिज भएको फिल्मको प्रचारका क्रममा धनुषले आफूलाई दक्षिण भारतीय नभएर भारतीय अभिनेता भनिनुपर्ने बताएका छन्।
धनुषले आफूलाई ‘दक्षिण भारतीय अभिनेता’ भन्दा जवाफमा भनेका छन्, ‘यदि हामी दक्षिण भारतीय नभनेर सबैलाई हिन्दी अभिनेता भन्न थाल्यौं भने म त्यो कुराको तारिफ गर्नेछु। अहिलेको समय हामी सबै एकसाथ आएर एउटा ठूलो उद्योग बनाउने समय हो।’
उनले कुनै दक्षिण, उत्तरजस्ता क्षेत्रीय नभएर राष्ट्रिय फिल्म बनाउन आवश्यक भएको बताएका छन्। सँगै धनुषले बढिरहेको डिजिटल माध्यममाथि पनि आफ्नो विचार पोखेका छन्। उनले भनेका छन्, ‘हरेक फिल्म कोही न कोही दर्शक केन्द्रित भएर बनाइएको छ। खासगरि डिजिटल माध्यममा यस्तो देखिएको छ। अब जसले पनि अरुको काम हेर्न सक्छ र उसमा भएको खुबी पहिचान गर्न सक्छ।’
धनुषको हलिउड फिल्म ‘द ग्रे मेन’ २२ जुलाईबाट नेटफ्लिक्समा प्रदर्शन भएको छ। उक्त फिल्ममा धनुषसँगै क्रिस इवान्स र रयान गोसलिङ्गको अभिनय रहेको छ। यो फिल्मलाई ‘द रुसो ब्रदर्स’ले निर्देशन गरेका छन्।