दीपक-दीपाको नयाँ फिल्मको नायिकामा बेनिशा र मलिना अनुबन्धित

काठमाडौँ - दीपकराज गिरी र दीपाश्री निरौलाको नयाँ फिल्मको दुई प्रमुख महिला पात्रमा बेनिशा हमाल र मलिना जोशी अनुबन्धित भएका छन्।

दीपकको जोडीको रुपमा बेनिशा र सहायक अभिनेत्रीको रुपमा पूर्व मिस नेपाल समेत रहेकी मलिना फिल्ममा जोडिएका हुन्। हेमराज बीसीले निर्देशन गर्ने फिल्मको कलाकारको समीकरण पनि लगभग टुंगिएको छ।

दीपक, दीपा, मलिना र बेनिशासहित फिल्ममा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, नीर शाह र निर्मल शर्माको समेत अभिनय रहने छ। निर्माता शर्माका अनुसार आगामी साता भक्तपुरको सूर्यविनायक मन्दिरमा फिल्मको मुहूर्तसँगै छायांकन प्रारम्भ हुनेछ।

तर कुन शीर्षकमा फिल्म बन्ने कुराको औपचारिक पुष्टि भइसकेको छैन। ‘श्री माग्ने राजा’ शीर्षकमा फिल्म बन्ने बताइए पनि निर्माता शर्माले निर्णय नभएको बताएका छन्। ‘हामीसँग श्री माग्ने राजा र छक्कापञ्जा ४ दुवै दर्ता भएका छन्। केही दिनमा नयाँ टाइटल पनि दर्ता हुनसक्छ,’ उनले भने।

साथै, उनले औपचारिक रुपमा स्क्रिप्टले पूर्णता नपाएको पनि जनाएका छन्। ‘आजसम्म स्क्रिप्टलाई पूर्णता दिएर अर्को सातासम्म सुटिङमा जान सकिन्छ कि भन्ने कुरा हो,’ उनले भने।

यसैबीच, दीपक-दीपाको यो फिल्म अब दशैंमा आउने सम्भावना करिब सकिएको छ। निर्माता शर्माले तिहारको छेकोलाई रिलिज मितिको रुपमा अघि सार्न सकिने बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×