काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित पहिलो कार्यसमिति बैठकले राष्ट्रिय फुटबल टोलीबाट बाहिरिएका १० सिनियर खेलाडीलाई स-सम्मान टोलीमा फिर्ता बोलाउने निर्णय गरेको छ। एन्फाका नवनिर्वाचित पदाधिकारीको बुधबार शपथग्रहणपछि बसेको पहिलो बैठकले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीद्वारा निकालिएका १० खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले व्यवस्थापनको विषयलाई लिएर उपकप्तान रोहित चन्दसहित १० खेलाडी तथा उनीहरूको समर्थन गरेको भन्दै कप्तान किरण चेम्जोङलाई राष्ट्रिय टोलीबाट बाहिर निकालेका थिए।
प्रशिक्षक खेलाडीको विवादमा सिनियर खेलाडी रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ र अञ्जन विष्टलाई टिमबाट निकालिएको थियो। छानबिन समितिले एन्फामा बुझाएको प्रतिवेदनमा खेलाडी दोषी नभएको र प्रशिक्षकको व्यवहार गलत भएको उल्लेख छ।
त्यस्तै, बैठकले छानविन समितिको प्रतिवेदन अनुसार प्रशिक्षकको विषयमा अल्मुताइरी र कतार फुटबल संघसँग छलफल गर्न महासचिवलाई निर्देशन दिएको छ।
बैठकले एन्फा महासचिवमा किरण राई, कोषाध्यक्षमा रवीद्र जोशी र विदेश विभाग प्रमुखमा नवीन पाण्डेलाई नियुक्त गरेको छ।