काठमाडौँ - मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदा तीन दिन पश्चिमी वायुको प्रभावका कारण मौसममा विकराल असर पर्न गई देशका विभिन्न भूभागमा बदली एवं हिमपात हुनसक्ने पूर्वानुमान गरेको छ।
बिहीबार
महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी तथा तराईका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
शुक्रबार
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। पहाडी तथा तराईका धेरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
शनिबार
शनिबार पनि गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। साथै, उक्त प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले बिहीबार र शुक्रबार भने मौसममा धेरै नै प्रभाव पर्ने हुँदा हवाई तथा पर्वतारोहण क्षेत्रतर्फ बढि खतरा रहने संकेत समेत गरेको छ।आइतबारदेखि भने वायुको मौसमी प्रभाव कमजोर हुँदै जाने र मौसममा क्रमिक रुपमा सुधार हुने महाशाखाले जनाएको छ।