लुम्बिनीमा कांग्रेसको उम्मेदवार सिफारिस विवादमा : पुरानै अनुहार हाबी, केही अदालतको घेरामा

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले समानुपातिकतर्फ नयाँ अनुहारलाई प्राथमिकता दिने घोषणा गरे पनि लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ सिफारिस भएका उम्मेदवारहरूमा अधिकांश पुरानै नेताहरू दोहोरिएका छन् । अझ गम्भीर कुरा के छ भने, केही सिफारिस उम्मेदवार विभिन्न मुद्दा मामिलामा अदालतको प्रक्रिया झेलिरहेका छन् ।

 

पार्टीले जारी गरेको आन्तरिक मापदण्ड विपरीत बहालवाला प्रदेश सभा सदस्यहरूलाई समेत प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा अघि सारिएको छ, जसले कांग्रेसभित्रै असन्तोष बढाएको छ ।

 

रुपन्देही क्षेत्र नम्बर ३ बाट सिफारिस भएका पूर्वगृहमन्त्री बालकृष्ण खाण भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित मुद्दामा विचाराधीन अवस्थामा छन् । कानुनी रूपमा उम्मेदवार बन्न रोक नभए पनि उनी उम्मेदवार बने चुनावी मैदानमा यो विषय मुख्य मुद्दा बन्न सक्ने भन्दै स्थानीय नेता–कार्यकर्तामा चिन्ता देखिन्छ ।

 

त्यस्तै, नवलपरासी क्षेत्र नम्बर २ बाट सिफारिस भएका नरेन्द्र गुप्ता पनि ‘चेक बाउन्स’सम्बन्धी मुद्दा झेलिरहेका छन् । उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । अन्नपूर्ण सुगर मिल खरिद प्रकरणमा २ करोड २२ लाख रुपैयाँ भुक्तानी नगरेको आरोपमा मुद्दा दर्ता भएको हो । गुप्ताले भने मुद्दा चलिरहेको स्वीकार गर्दै त्यसले उम्मेदवार बन्न कानुनी बाधा नपुर्‍याउने दाबी गरेका छन् ।

 

बाँके क्षेत्र नम्बर ३ बाट सिफारिस भएका महेन्द्र मल्ल ठकुरी पनि बैंकिङ कसुरमा मुछिएको विषय बाहिरिएको छ । उनले भने सबै मुद्दा मिलाइसकेको र कालोसूचीबाट हटिसकेको दाबी गरेका छन् ।

 

यसैबीच, कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिले केन्द्रले जारी गरेको परिपत्र विपरीत बहालवाला प्रदेश सभा सदस्यहरूलाई पनि प्रत्यक्षतर्फ सिफारिस गरेको छ । रुपन्देही–१ बाट अब्दुल रज्जाक र पाल्पा–२ बाट वीरबहादुर रानालाई प्रतिनिधि सभा उम्मेदवारका रूपमा अघि सारिएको छ । दुवै हाल लुम्बिनी प्रदेश सभा सदस्य हुन् ।

 

‘युवा र नयाँ अनुहार आवश्यक’

 

प्युठानकी प्रदेश सभा सदस्य निमा गिरीले कांग्रेसले सबै पुस्तालाई समेट्दै अघि बढ्नुपर्ने बताइन् । तर वर्तमान अवस्थामा युवालाई प्राथमिकता दिनु आवश्यक रहेको उनको भनाइ छ ।

 

युवा नेता प्रकाश पोखरेलले पटक–पटक अवसर पाएका र विवादमा परेका पात्रलाई दोहोर्‍याउँदा पार्टीप्रति जनविश्वास कमजोर हुने चेतावनी दिए । नयाँ अनुहार अघि सार्दा सकारात्मक सन्देश जाने उनको भनाइ छ ।

 

नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय पदाधिकारी मुक्तिप्रसाद पौडेलले पनि युवाको क्षमता र सम्भावनालाई बुझेर उम्मेदवार छनोट गरे निर्वाचनमा प्रतिस्पर्धा सहज हुने बताए । तर हाल सिफारिस सूचीमा अधिकांश पुरानै नेताहरू हाबी भएकोप्रति उनले असन्तोष व्यक्त गरे ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×