महिला युरो २०२२: नर्वेको सानदार सुरवात

काठमाडौँ - दुई पटकको च्याम्पियन नर्वेले बिहीबार डेब्यु टोली उत्तरी आयरल्यान्डलाई ४-१ ले पराजित गर्दै महिला युरोपियन च्याम्पियनसिपमा सानदार सुरुआत गरेको छ। 

पछिल्लोपटक सन् १९९३ मा उपाधि जितेपछि नर्वेले २ पटक फाइनलमा स्थान बनाइसकेको छ। २००५ र २०१३ को फाइनल खेलेको नर्वेले खेल अवधिभर आत्मविश्वासी प्रदर्शन गरेको थियो। मिडफिल्डर जुली ब्लाकस्टाडको गोलबाट नर्वेले दशौँ मिनेटमा अग्रता लिएको हो। 

२०१८ को बालोन डी’ओर विजेता एडा हेगरबर्गको पासमा फ्रिडा मानुमले १३औँ मिनेटमा अग्रता दोब्बर बनाइन्। क्यारोलिन ग्राहम ह्यान्सनले ३१ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता बढाएकी हुन्। 

रक्षक जुली नेल्सनले ४९औँ मिनेटमा गरेको गोलबाट नर्दन आयरल्यान्डले पुनरागमनको प्रयास गरेको थियो। नेल्सन नर्दन आयरल्यान्डबाट सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन्। 

मिडफिल्डर गुरो रेइटेनले ५४औँ मिनेटमा अर्को गोल थपेपछि नर्वेले सहज विजय हासिल गरेको हो। रेइटेनले फ्रीकिकमा सिधै गोल गरेकी थिइन्। युरोपियन च्याम्पियनसिपको पहिलो खेलमा उत्तरी आयरल्यान्डले ठूलो हार व्यहोरेको छ।

नर्वे समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ। समान ३ अंक भए पनि गोल अन्तरमा इङ्ल्यान्ड दोस्रो स्थानमा रहेको छ। इङ्ल्यान्डले बुधबार राति अष्ट्रियालाई १-० ले हराएको थियो। नर्वेले सोमबार ब्राइटनमा इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। 

प्रतियोगितामा आज राति समूह ‘बी’को स्पेनले फिनल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै जर्मनीले डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ। जर्मनीले सबैभन्दा धेरै ८ पटक यस प्रतियोगिताको उपाधि जितेको छ। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×