काठमाडौँ । पर्वतस्थित एक भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा डिस्पेन्सरी र प्रयोगशाला भवन निर्माण सुरु गरिएको छ।
गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा डिस्पेन्सरी र प्रयोगशाला भवन निर्माण गर्न थालिएको हो। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राङ्गणमा उक्त भवन निर्माण हुनेछ। पशुपक्षीको उपचार, कृत्रिम गर्भाधान, बन्ध्याकरणलगायतका कार्य गर्न तथा अन्य अनुसन्धानमूलक कार्य गर्न भवन निर्माण गर्न लागिएको हो।
विसं २०७९ मसान्तसम्म भवन निर्माणको काम सक्ने लक्ष्य लिइएको विज्ञ केन्द्र प्रमुख रामजीप्रसाद शर्माले जानकारी दिए। भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले बिहीबार भवनको शिलान्यास गरेका छन्। कार्यक्रममा मन्त्री बुढाले कृषि र पशुपालनलाई व्यावसायिक बनाउने तथा गरिबी निवारणका लागि नयाँ योजनाका साथ प्रदेश सरकार अगाडि बढेको बताए। प्रदेशका ११ जिल्लामा त्यहाँको विशेषताअनुसार कृषि र पशुपालनको प्रवद्र्धन तथा विकास गर्ने खालका नयाँ कार्यक्रम ल्याउन गृहकार्य भइरहेको उनले जानकारी दिए।
यसैबीच, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सामुदायिक तथा छाडा कुकुरको बन्धाकरण शिविर पनि सञ्चालन गरिएको छ। दुई दिनसम्म कुकुर बन्ध्याकरण शिविर सञ्चालन हुने जनाइएको छ। छाडा कुकुरको सङ्ख्या बढी भएकाले त्यसको नियन्त्रणका लागि शिविर सञ्चालन गरिएको हो।