काठमाडौँ - एथ्लेटिको म्याड्रिडले म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउन एन्टोनियो ग्रिजमानलाई बिक्रीमा राखेको खबर छ।
रोनाल्डोलाई भित्र्याउने हो भने स्पेनिस क्लबले पहिलो आफ्नो तलबमानलाई मिलाउन जरुरी हुन्छ। यसका लागि क्लबले ग्रिजमानलाई पेरिस सेन्ट जर्मेनलगायत सम्भावित क्लबहरूलाई अफर गरेको द टाइम्सले जनाएको छ।
गत सिजन बार्सिलोनाबाट एथ्लेटिको फर्किएका ३१ वर्षीय फ्रान्स फरवार्ड र क्लबबीच २ वर्षको ऋण सम्झौता रहेको छ। क्लबले त्यसपछि उनलाई ४ करोड युरोमा अनिवार्य अनुबन्ध गर्नुपर्छ। उता पीएसजी आफैँ नेयमारजस्ता धेरै कमाउने र राम्रो प्रदर्शन गर्न नसक्ने खेलाडीहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेको छ। उसले ग्रिजमानलाई भित्र्याउने अफर अस्वीकार गरेको छ।
उता क्लब छाड्ने इच्छा व्यक्त गरेका रोनाल्डोलाई ऋणमा पठाउन युनाइटेड तयार भएको द मिररले जनाएको छ। त्यसअघि युनाइटेडले रोनाल्डोलाई १ वर्षको करार थप गर्नुपर्ने माग गरेको छ।