उपमहानगरको अन्तिम नतिजा: तुलसीपुरको मेयर र उपमेयरमा एमाले विजयी

दाङ - वैशाख ३० गते भएको स्थानीय तह चुनावको ११ वटै उप-महानगरको मतपरिणाम सार्वजनिक भएको छ। बुधबार दिउँसो दाङको तुलसीपुर उप-महानगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ। तुलसीपुरमा सत्तारूढ गठबन्धनलाई हराउँदै नेकपा एमालेले मेयर र उपमेयर जितेको छ।

मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी विजयी भएका हुन्। खड्काले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका गेहेन्द्र गिरीलाई हराएका हुन्। खड्काले ३१४०८ मत ल्याउँदा गिरिले २७७१६ मत पाए। उपमेयरमा चौधरीले ३०५९७ मत ल्याएर विजयी भइन्। पराजित भएका नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले २१०६५ मत पाएका हुन्।

एमालेले यसअघि छिमेकी घोराही उप-महानगरमा पनि सत्ता गठबन्धनलाई हराएर जित हात पारेको थियो। यी दुबै उप-महानगरमा २०७४ को चुनावमा पनि एमाले विजयी भएको थियो।यसपालि एमालेले दाङका दुई र बाराको कलैया उप-महानगरमा मेयर र उपमेयर जितेको छ।  

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल, नेपालगन्जमा कांग्रेसका प्रशान्त बिष्ट, बुटवलमा कांग्रेसका खेलराज पाण्डेय, हेटौंडामा नेकपा (एकीकृत समाजवादी)की मीनाकुमारी लामा, जितपुर सिमरामा माओवादी केन्द्रका राजन पौडेल, जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साह, इटहरीमा कांग्रेसका हेमकर्ण पौडेल र धरान उप-महानगरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×