काठमाडौँ - स्पेनिस ला लिगा फुटबलमा आइतबार राति भएको खेलमा महारथि क्लब रियल मड्रिड जिरोनासँग १-१ गोलको बराबरीमा रोकिएको छ। घरेलु मैदान सान्टियागो बर्नाबेउमा अग्रता जोगाउन नसक्दा रियलले दोस्रो स्थानको बार्सिलोनासँगको दूरी बढाउन सकेन।
पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा खेलको ७०औं मिनेटमा भिनीसियस जुनियरले अग्रता दिलाएका थिए। तर, ८०औं मिनेटमा क्रिस्टियन स्टुआनीले गोल गर्दै जिरोनाको हार टारे। रियल अन्तिम समयमा १० खेलाडीमा सिमित भएको थियो। उसका टोनी क्रुसले रातो कार्ड पाएका थिए।
यद्यपि, रियल १२ खेलमा ३२ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। जिरोना १० अंक जोडेर १६ औं स्थानमा रहेको छ।