काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्याम विजयी भएको छ। टोटनह्यामले म्यानचेस्टर सिटीलाई उसकै मैदानमा ३–२ ले पराजित गरेको हो।
टोटनह्यामको जितमा ह्यारी केनले दुई गोल गरे। उनले ५९ औँ मिनेट र इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा गोल गरेका हुन्। यस्तै टोटनह्यामका लागि चौथो मिनेटमा नै कुलुसेभ्स्कीले गोल गरेका थिए।
म्यानचेस्टर सिटीका लागि इल्केयी गुण्डोगानले ३३ औँ मिनेटमा गोल गरे। यस्तै रियाद महरेजले इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका थिए। शीर्ष स्थानको सिटीमाथिको जितमा टोटनह्यामका लागि केन नायक बने।
खेलपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २६ खेलबाट ६३ अंक भएको छ। यस्तै विजयी भएको टोटनह्याम २३ खेलबाट ३९ अंकसहित सातौँ स्थानमा उक्लिएको छ।