काठमाडौँ - वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन, रोजगारीमा जानेहरूलाई सचेत बनाउन, सीपसहित जानका लागि सहजीकरण गर्नका लागि अहिले सरकारले सुरक्षित आप्रवासन परियोजना नै सञ्चालन गरेको छ।
नुवाकोटमा पनि उक्त कार्यक्रम पाँच वर्षदेखि सञ्चालन भइरहेको छ। जिल्लाका वैदेशिक रोजगारीमा धेरै जाने चार स्थानीय तहमा कार्यक्रम सञ्चालन भइरहेको छ। विदुर र बेलकोटगढी नगरपालिका तथा लिखु र शिवपुरी गाउँपालिकामा सामी परियोजना सञ्चालन भइरहेको छ। परियोजना चार स्थानीय तहमा सञ्चालन भए पनि यसले विदेशमा अलपत्र र ठगीमा परेका, एउटा काममा गएर अर्कै काम गर्न बाध्य भएका, विदेशमा ज्यान गुमाएकाहरूको शव नेपाल ल्याउन सहजीकरण जस्ता काम जिल्लाभरिकै लागि गर्दै आएको छ। परियोजनाले विदेश जान चाहनेलाई स्वदेशमै रोजगारीको अवसर खोज्न, जानै लागेकालाई कुन काममा जान लागेको हो, सोही कामअनुसारको तालिम प्रदान गर्न तथा आवश्यक कागजात बनाउने सल्लाह दिने काम गर्छ।
साथै, यसले विदेशमा गइसकेका परिवारमा व्यक्तिका परिवारका सदस्यलाई कमाइ भएको रकम सदुपयोग गर्न वित्तीय साक्षरता तथा मानसिक समस्यामा परेकालाई मनोपरामर्शको समेत सेवा दिँदै आएको परियारको भनाइ छ। वैदेशिक रोजगारीबाट ठगी भएमा जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी दिन सकिने व्यवस्था छ। वैदेशिक रोजगार ऐन, २०६४ लाई संशोधन गरी प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिइएको हो। ऐनमा कुनै व्यक्तिममाथि परेको उजुरी प्रजिअले जाँचबुझ गरी कामदार वा निजको प्रतिनिधिलाई क्षतिपूर्ति भराइदिनुपर्ने कारण देखिएमा दुवै पक्षबीच छलफल गराई क्षतिपूर्ति भराइदिने गरी मेलमिलाप गराउन सक्ने र त्यसरी मेलमिलाप गराएको जानकारी विभागलाई दिनुपर्ने व्यवस्था गरिएको छ।
नुवाकोटका सहायक प्रजिअ वेदप्रसाद अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परियोजनाले जिल्ला प्रशासनको ढोकामा बसेर राहदानी बनाउन आउनेहरूलाई परामर्श दिने कार्यले असुरक्षित वैदेशिक रोजगारीमा जानबाट केही भए पनि फर्किने गरेको समेत जानकारी दिए।