काठमाडौँ - फ्रेन्च ओपनर गुस्टिभ म्याककिओनले टी-२० अन्तर्राष्ट्रियमा नयाँ कीर्तिमान बनाएका छन्। उनले सबैभन्दा कम उमेरमा टी-२० अन्तर्राष्ट्रिय शतक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन्।
उनले फिनल्याण्डमा जारी आइसिसी टी-२० विश्वकप युरोपियन क्षेत्रीय छनोट अन्तर्गत स्विट्जरल्याण्डविरुद्ध १८ वर्ष २८० दिनको उमेरमा शतक बनाएका छन्। ६१ बलको सामना गरेका गुस्टिभले ९ छक्का र ५ चौकासहित १०९ रन बनाएका छन्।
यसअघि यो कीर्तिमान अफगानिस्तानका ओपनर हजरतुल्लाह जजाईको नाममा रहेको थियो। सन् २०१९ मा आयरल्याण्डविरुद्ध ६२ बलमा अविजित १६२ बनाउँदा उनको उमेर २० वर्ष ३३७ दिनको थियो।
यो सूचीमा नेपालका दीपेन्द्रसिंह ऐरी पाचौँ स्थानमा छन्। उनले गत अप्रिलमा मलेसियाविरुद्ध २२ वर्ष ६८ दिनको उमेरमा शतक बनाएका थिए।