काठमाडौँ - ओलम्पिक च्याम्पियन सिड्नी म्याकलघलिनले शनिबार ४०० मिटर हर्डल्समा विश्व कीर्तिमान बनाएकी छिन्। अमेरिकाकी म्याकलघलिनले यूएस आउटडोर ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा उनले आफ्नै कीर्तिमान तोडेकी हुन्।
उनले निर्धारित दूरी ५१.४१ सेकेन्डमा पूरा गरेकी थिइन्। यसअघि आफैँले बनाएको ५१.४६ सेकेन्डको कीर्तिमान तोड्न उनि सफल भइन्। त्यो कीर्तिमान टोकियो ओलम्पिकमा बनाएकी उनले स्वर्णपदक जितेकी थिइन्।
'यहाँ आउँदा मलाई प्रत्येकपटक केही विशेष हुँदै छ भन्ने अनौठो अनुभूति हुन्छ,' म्याकलघलिनले भनिन्।
अब कसरी खुसी मनाउने भनेर सोधिएको प्रश्नमा उनले ठट्टा गरिन्, 'सागपातभन्दा केही फरक खानेकुरा खाएर। जस्तै, चिज बर्गर वा अरू केही। प्यानकेक यस्तै।'
२२ वर्षीया म्याकलघलिनले सुरुमै अग्रता लिएकी थिइन्। त्यसपछि उनले कुनै पनि समय अरू प्रतिस्पर्धीलाई अगाडि पर्न दिइनन्।
दोस्रो स्थान हासिल गरेकी ब्रिटन विल्सन म्याकलघलिनभन्दा १.६७ सेकेन्ड ढिला भएकी थिइन्। तेस्रो स्थानमा रहेकी शामियर लिटलले ५३.९२ सेकेन्डमा दूरी पूरा गरेकी थिइन्।