आधुनिक डिजिटल प्रविधिबाट पठनपाठन

काठमाडौँ - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालय प्रविधि मैत्री विद्यालयका रूपमा परिचित भएको छ। 

आधुनिक डिजिटल प्रविधि प्रयोग गरी विद्यालयमा पठनपाठन हुँदै आएको हो। परम्परागत शिक्षालाई रुपान्तरण गरी प्रविधिमा आधारित कक्षा सञ्चालन हुँदै आएको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र पाण्डेयले बताए। “किताबी ज्ञानभन्दा विद्यार्थीलाई व्यावहारिक शिक्षा प्रदानमा जोड दिएका छौँ,” उनले भने, “विद्यार्थीका लागि स्मार्ट बोर्डसहितको कक्षा कोठा निर्माण गरी पढाइ हुँदै आएको छ।” सहायक प्रधानाध्यापक पाण्डेयका अनुसार गणित विषयलाई निकै जटिल विषयका रूपमा चित्रण गरिने भएकाले यसलाई सरल र सहज रूपमा विद्यार्थीलाई सिकाउनका लागि आधारभूत तहदेखि माध्यमिक तहसम्मका विद्यार्थीलाई पूर्ण रूपमा डिजिटल माध्यमबाट पठनपाठन गर्नसक्ने व्यवस्था गरिएको छ। 

“विद्यार्थीले गणित विषय विद्यालयमा पढ्छन्। नबुझेका कुरा सिकाउनका लागि शिक्षकद्वारा निर्माण गरिएका डिजिटल सामग्री इन्टरनेटमा राखिएको छ,” उनले भने, “त्यसबाटै विद्यार्थीले सिक्ने गरेका छन्। इन्टरनेटका माध्यमबाट पाठ्य सामग्री हेर्न सक्ने गरी विषयवस्तु राखेका छौँ।” विद्यार्थीको शैक्षिक गुणस्तर बढाउनका लागि निर्माण गरिएको वेबसाइटमा शिक्षासँग सम्बन्धित १५ वटा वेबसाइट खोल्न सकिने व्यवस्थासमेत गरिएको छ। कक्षा १० मा अध्ययनरत विद्यार्थी राजेन्द्र अवस्थीले स्मार्ट डिजिटल बोर्डमा सिकाइ हुने भएकाले पढाएका कुरा बुझ्नका लागि निकै सहज हुने गरेको बताए। “कालोपाटीमा शिक्षकले ज्यामिती पढाउँदा बुझ्न कठिन हुन्थ्यो,” उनले भने, “डिजिटल बोर्डमा प्रविधि प्रयोग गरी सिकाइने भएकाले बुझ्न निकै सहज भएको छ। शिक्षकले निर्माण गरेका डिजिटल शैक्षिक सामग्री वेबसाइटबाट समेत हेर्न मिल्ने भएकाले नबुझेका कुरा घरमै हेरेर बुझ्ने गरेका छौँ।”

विद्यालयका शिक्षकले वेबसाइटमा शैक्षिक सामग्री, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षासम्बन्धी ऐन, निर्देशिका, विशिष्टीकरण तालिका, स्वअध्ययन सामग्री, पठनपाठनका विभिन्न स्लाइडहरू, उपयोगी लिङ्क, विभिन्न शिक्षाविदका लेखरचनाहरू वेबसाइटमा राखिएका छन्। आधारभूत तहका विद्यार्थीलाई चित्रका माध्यमबाट पठनपाठन गर्नका लागि प्रोजेक्टरको समेत प्रयोग हुने गरेको छ। “बदलिँदो परिवेशसँगै शिक्षामा समेत आमूल परिवर्तन हुन आवश्यक छ,” विद्यालय व्यवस्थापन समितिका सदस्य तेजबहादुर शाहले भने, “यसै कुरालाई मध्यनजर गर्दै विद्यालय शिक्षालाई डिजिटलाइजेशन गर्न लागेका छौँ। शिक्षालाई गुणस्तरीय बनाउनका लागि प्रविधिमा विशेष जोड दिई अगाडि बढ्दैछौँ।” विद्यालयमा डिजिटल विधिबाट पठनपाठनको कार्य प्रभावकारी भए नभएका बारेमा समेत अध्ययन गरिँदै आएको जानकारी दिँदै उनले अवस्था अध्ययन गर्दा विगतको परम्परगत विधिको तुलनामा विद्यार्थीमा सिक्ने उत्सुकता पाइएको बताए। विद्यार्थी नियमित विद्यालय आउने गरेका छन्। बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या घटेको छ।

पठनपाठनमा विद्यार्थीको रुचि बढ्दा उत्तीर्ण प्रतिशत बढ्नाका साथै नतिजामा सुधार हुँदै गएको पाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×