राजु लामा सगरमाथामा कन्सर्ट गर्ने पहिलो नेपाली

काठमाडौँ- सिन्धुपाल्चोकमा जन्मे-हुर्केका राजु लामाले काठमाडौंदेखि नजिकका डाँडाकाँडा धेरैपटक छिचोलिसकेका छन्। बेपरवाह, निस्फिक्री पैदल यात्रा गर्दै पहाडको भिराला गल्छीहरुमा हिँडिरहन्छन् उनी। तर, यसपालि हिँड्नकै लागि भनेर हिमालतिर लागेनन्। बरू, सगरमाथाको उचाइमा सांगीतिक कन्सर्ट नै गरेर विश्व कीर्तिमान राखे। 

 उनले यसपालि विश्वकै अग्लो सगरमाथाको क्याम्प २ र ३ को बीचमा कन्सर्ट गरे। लामाले सगरमाथा क्षेत्रमा ६ हजार पाँच सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका हुन्। नेपालमा बढ्दो जलवायु परिवर्तनको असरका बारेमा सन्देश दिने उद्देश्यका साथ गायक लामाले सगरमाथाको क्याम्प–३ मा पुगेर गीत गाएका हुन्। उनको यो सांगीतिक कन्सर्ट सबैभन्दा अग्लो स्थानमा गरिएको पहिलो  कार्यक्रम बनेको छ। 

उनका ‘तिमीलाई देखेर’, ‘उँभो उँभो खासा म जाँदा’, ‘मेरो नेपाल’, ‘ओए नाना ओए नाना’ 'हल्ला चलेछ'  जस्ता गीत हिट छन्। हिमाल र पूर्वी नेपालमा बोलिने मौलिक शब्द उनका गीत बन्छन्। गायक लामाले कार्यक्रममा सार्वजनिक नभएको  ‘हिमालले डाक्यो मलाई’ बोलको गीत प्रस्तुत गरेका थिए। यसबाहेक उनले मंगोलियन हार्ट व्याण्डका चर्चित गीतहरु पनि गाएका थिए। लामाले एक भिडियो राख्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘सगरमाथाको ६ हजार ५ सय ७४ मिटरको उचाइमा (क्याम्प २ र ३ को बीचमा) कन्सर्ट गर्नु ठूलो सफलता हो। यो सजिलो काम थिएन तर पातलो हावाको चुनौती मन पर्यो।’ 

लामाले सामाजिक सञ्जालमा जलवायु परिवर्तन र दैनिक जीवनमा विश्वभरि यसको प्रभावबारे सचेतना सन्देश पुर्याउने मिशनका साथ कन्सर्ट गरेको बताएको छन्।

उनले सामाजिक सञ्जालमार्फत हरेक कार्य जतिसुकै सानो किन नहोस् त्यसको महत्व हुन्छ। यस्तै सोचका साथ भविष्यका सन्ततीलाई सहयोग गरौं भनेका छन्।  यसअघि बेलायती गायक ओज बेल्डोनले सन् २०१२ मे मा १६ तारिखमा ‘म्युजिक फर चिल्ड्रेन’ प्रतिनिधित्व गर्दै मेरापिक हिमालको ६ हजार चार सय ७६ मिटर उचाइमा कन्सर्ट गरेर गिनिज विश्व रेकर्ड राखेका थिए। उक्त रेकर्डलाई गायक राजुले तोड्दै नयाँ कीर्तिमान राखेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×