काठमाडौँ - विजया दशमीको अवसर पारेर १४ असोजबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बाबरी’ अष्ट्रेलिया पनि प्रदर्शन हुने भएको छ। फिल्मको अष्ट्रेलिया प्रदर्शनका लागि फिल्म मेभन कन्सल्टिङ ग्रुपका अनिल त्वनाबासु र विक्की श्रेष्ठले किनेका छन्।
सुरेन्द्र पौडेल निर्देशित फिल्म महँगो रकममा अष्ट्रेलिया राइट बिक्रि भएको निर्माण युनिटले जनाएको छ। फिल्म निर्माण कम्पनी बाबरी फिल्मस् र मवेन इन्टरटेनमेन्टबीच फिल्मको राइटको बिषयमा कागजी सम्झौता भएको हो।
निर्मात्री पुष्पलता बुढाथोकीका अनुसार नेपाल प्रदर्शनको १० दिनपछि फिल्म अष्ट्रेलियामा रिलिज हुनेछ। त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा धीरज मगर, अदिति बुढाथोकी, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दिलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतको अभिनय रहेको छ।
यो फिल्मबाट अभिनेत्री तृप्ति नाडकरका छोरा धीरजले नायकको रुपमा डेब्यू गरेका छन्। फिल्ममा उनी भारतीय नागरिककै भूमिकामा छन्।
फिल्मको निर्मातामा पुष्पलतासँगै गणेश बुढाथोकी हुन्। सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं, अनमोल गुरुङको संगीत, नरेन्द्र मैनालीको छायांकन र निर्देशक पौडेल स्वयंको सम्पादन रहेको छ।