काठमाडौँ - आयाक्सबाट आठ करोड २० लाख पाउण्डमा अनुबन्ध भएका एन्टोनीले डेब्यू खेलमै गोल गरेको दिन म्यानचेस्टर युनाइटेडले आइतबार राति इङ्लिस प्रिमियर लिगमा आर्सनललाई ३-१ गोल अन्तरले हराएको छ।
ब्राजिलका विंगर एन्टोनीले ३५ औँ मिनेटमा गरेको गोलबाट घरेलु टोली युनाइटेडले अग्रता लिएको थियो। एन्टोनीको गोलमा मार्कुस राशफोर्डले अवसर सिर्जना गरिदिएका थिए। राशफोर्ड आफैले पनि २ गोल थपेका थिए।
आर्सनलका बुकायो साकाले ६० औँ मिनेटमा बराबरी गोल फर्काएका थिए। त्यसको ६ मिनेटपछि राशफोर्डले पुनः युनाइटेडलाई अग्रता दिएका थिए। राशफोर्डले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका हुन्। खेल सकिन १५ मिनेट बाँकी हुँदा राशफोर्डले क्रिष्टियन इरिक्सनको पासमा अर्को गोल थपेपछि युनाइटेडले ३ अंक पक्का गरेको हो।
राशफोर्डले प्रिमियर लिगको एकै खेलमा २ गोल गरेको यो २०२० डिसेम्बरपछि पहिलो पटक हो। १२ औँ मिनेटमा आर्सनलका गाब्रियल मार्टिनेलीले गरेको गोललाई भिडियो सहायक रेफ्री (भीएआर)ले मान्यता दिएको थिएन।
जितसँगै युनाइटेडले लगातार ४ खेलमा विजय हासिल गर्न सफल भएको छ। ठिक विपरीत आर्सनलको सतप्रतिशत नतिजामा पूर्णविराम लागेको छ। आर्सनल सुरुको ५ खेलमा विजयी नतिजा निकाल्न सफल भएको थियो।
हारका बाबजुद आर्सनल १५ अंकका साथ शीर्ष स्थानमा यथावत रहेको छ। जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा र तेस्रो स्थानको टोटनहमभन्दा एक अंकले माथि हो। जितपछि युनाइटेड भने पाँचौँ स्थानमा उक्लन सफल भएको छ। युनाइटेडले १२ अंक जोडेको छ। १३ अंक जोडेको ब्राइटन चौथो स्थानमा रहेको छ।