‘जात्रा’ को तेस्रो ऋंखला ‘महाजात्रा’ को छायांकन सुरु

काठमाडौं - फिल्म ‘जात्रा’को तेस्रो श्रृंखलाको छायांकन बुधबारदेखि सुरु भएको छ। निर्माता कम्पनी षट्कोण आर्ट्सले स्वयम्भूको बिजेश्वरी मन्दिरमा पूजा गर्दै ‘महाजात्रा’ छायांकन थालेको हो।

४५ दिनको छायांकन सेड्युल तय गरिएको फिल्मलाई काठमाडौं र जनकपुरमा खिचिनेछ। निर्देशक तथा पटकथाकार प्रदीप भट्टराईले फिल्मको मुख्य सेटिङ काठमाडौं र आंशिक तराईको हुने बताए।

‘महाजात्रा’ बटमलाइनको रुपमा ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ राखिएको छ। निर्देशक भट्टराईले यो फिल्ममा बहुघटनाको कथावस्तु चित्रण हुने बताए।

तेस्रो श्रृंखलामा राष्ट्रिय मुद्दालाई उठान गरिएको उनले बताए। ‘सत्य लुक्दैन, झुटो टिक्दैन भन्ने बटमलाइनमा रहेर नेसनल इस्यु उठाउँछौं,’ भट्टराईले भने, ‘जात्रा भनेको एउटा अराजकता पनि हो। यही जात्रालाई राम्रो मनाउन सके सेलिब्रेसन हुन्छ । यही दुई चीज फिल्मभित्र हुन्छ। महाजात्रामा पनि नसोचेको कुरा भइदिन्छ।’

हरिवंश क्यारेक्टर लुक्समै पत्नीसहित उपस्थित थिए। ‘महाजात्रा’ एक किसिमले कलाकारको पल्टनजस्तै देखिएको छ। अघिल्लो सिक्वेलको कलाकारको रूपमा विपिनसहित रविन्द्रसिंह बानियाँ, रविन्द्र झा र वर्षा राउत त हुने नै भए।

नयाँ कलाकारको रुपमा हरिवंशसहित राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ श्रृंखलासँग जोडिएको छ।

कथावस्तुको संरचनाअनुसार अन्य कलाकारलाई कास्ट गरिएको निर्देशक भट्टराईले जनाए। स्वास्थ्यलाभ गरिरहेका अभिनेता प्रकाश घिमिरेलाई तत्काल रिप्लेस नगर्ने निर्माताको तयारी छ।

‘महाजात्रा’ले बौद्धको सेचेन गुम्बामा घिमिरेको स्वास्थ्यलाभको कामना गर्दै पूजा समेत गरेको थियो। फिल्मको स्क्रिप्ट डाक्टरको रूपमा मनोज पण्डित छन्। सुपरहिट ‘महापुरुष’पछि ‘महाजात्रा’ निर्माणमा कस्सिएको षट्कोण आर्ट्सको यो फिल्म पनि दर्शकमाझ प्रतीक्षित छ।

चैत ९ गते प्रदर्शन तयारीमा रहेको फिल्मको निर्मातामा म्याक्स दीपेश खत्री छन्। निर्माता खत्रीले दर्शकलाई मनोरञ्जन दिने कुरामा आफूहरुले मेहनत गर्ने बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×