बाह्रवर्षे मेलाका लागि सिंगारियो पनौती

काठमाडौँ । काभ्रेपलाञ्चोकको पनौतीस्थित त्रिवेणीघाट क्षेत्र हिजोआज सबैजनाको गन्तव्य बनेको छ। त्यहाँ रहेका मन्दिर, खोला, पाटीपौवा र धर्मस्थलमा ङगरोगन तथा सरसफाइ मात्रै होइन, अन्य भौतिक पूर्वाधारसमेत निर्माण गरिएपछि पनौती आसपासका सर्वसाधारण त्रिवेणीघाटको फेरिएको रुप हेर्न जाने गरेका छन्।

ऐतिहासिक, धार्मिक तथा पुरातात्विक क्षेत्र पनौतीमा बाह्र वर्षमा एक पटक लाग्ने मकर मेला यसवर्ष परेको छ। सो अवसरमा पनौती नगरपालिकाले भक्तजन र दशर्नार्थीको सहजतालाई ध्यानमा राखी पनौती त्रिवेणीघाटस्थलको भौतिक पूर्वाधारदेखि मठमन्दिरको जीर्णोद्वार तथा रङगरोगनको काम गरिरहेको छ। सो स्थल यतिबेला बेहुली झैं सिंगारिएको छ। बाह्रवर्षे मकर मेला सुरु हुन अब दुई दिन मात्रै बाँकी छ। पनौती घुम्न पुगेका रामेछाप सदरमुकाम मन्थलीका कृष्ण श्रेष्ठले विगतको मेलामा भन्दा यसपटक धेरै व्यवस्थित गरिएको पाएको बताए। “पहिला शौचालय र बाटोघाटोको समस्या थियो”, उनले भने, “यसपटक सबैकुरा व्यवस्थित पारिएको छ।” एक महिना अगाडिदेखि सो क्षेत्रको सरसफाइ, भौतिक पूर्वाधार निर्माण र रङगरोगनको काम अघि बढाइएको वडा नं ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले बताए। 

पछिल्लो समय कोरोना सङ्क्रमण पुनःबढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय र पनौती नगरपालिकाले स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिकस्थलमा भीडभाड नगर्न सचेत गराएको छ। कम सङ्ख्यामा भक्तजनको उपस्थिति गराई स्नान गरी दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ। त्रिवेणीघाटमा मेला भर्न छिमेकी देश भारतबाट समेत साधुसन्त आइसकेका छन्। माघ महिनाभर लाग्ने सो मेलामा भारतीय तीर्थालुसमेत आउने गरेका छन्। त्रिवेणीघाटमा नुहाएर त्यहाँको जल हत्केलामा राखेर उत्तरपट्टी रहेको कुञ्जगिरी पर्वत अर्थात गोरखनाथडाँडास्थित गोरखनाथलाई चढाउँदा पुण्य मिल्ने र मनोकांक्षा पूरा हुने जनविश्वास छ।

नगरपालिकाले मकर स्नानका लागि लीलावती र पुण्यमाता खोलाको पानी कुलोमार्फत् बाहिर फालेर पिउनयोग्य तथा स्नान गर्न मिल्ने बनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×