काठमाडौँ - कतारमा जारी फिफा विश्वकपअन्र्गत आज हुने समूह ‘डी’ को खेलमा साबिक विजेता फ्रान्सले डेनमार्कको सामना गर्दैछ। खेल राति ९:४५ बाट स्टेडियम ९७४ मा सुरु हुनेछ। फ्रान्स डेनमार्कलाई हाराउँदै लगातार दोस्रो जित दर्ता गर्ने लक्ष्यमा छ। पहिलो खेलमा उसले अस्ट्रेलियालाई ४-१ ले हारएको थियो।
यसअघि ट्युनिसियासँग गोलरहित बराबरी खेलेको डेनमार्क पनि फ्रान्सलाई स्तब्ध पार्दै पहिलो जित दर्ता गर्ने प्रयासमा छ।
आजको खेलका ‘प्लेयर टु वाच’
ओलिभर जिरुड
फ्रेन्च फरवार्ड जिरुड पछिल्लो समय उत्कृष्ट लयमा देखिएका छन्। पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध २ गोल गरेका उनी आज पनि डेनमार्कका लागि घातक बन्न सक्छन्। इटालीको एसी मिलानबाट व्यवसायिक फुटबल खेल्ने जिरुडले देशका लागि ११५ खेलमा ५१ गोल गरेका छन्।
किस्टियन एरिकसन
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्ने डेनिस मिडफिल्डर एरिकसन फ्रान्सका लागि समस्या बन्न सक्छन्।
उनी विपक्षीलाई छक्काउँदै गोलको अवसर सिर्जना गराउन माहिर छन्। ट्युनिसियाविरुद्धको खेलमा पनि उनले केही राम्रा अवसर सिर्जना गराएका थिए तर टोलीका फरवार्डले त्यसलाई सदुपयोग गर्न सकेनन्। एरिकसनले देशका लागि ११८ खेलमा ३९ गोल गरेका छन्।