काठमाडौँ - पाकिस्तानमा आएको विनाशकारी बाढीका कारण देशमा करिब १ हजार ३ सय जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले शनिबार दिएको जानकारीअनुसार विगत २४ घण्टामा २९ जनाको ज्यान गएपछि जुनदेखि मृत्यु हुनेको संख्या १ हजार ३९० पुगेको छ।
यसैबीच, पाकिस्तानका सरकारी निकाय र निजी गैरसरकारी संस्थाहरूले उद्धार तथा राहात जारी राखेका छन्। बाढीका कारण देशको एकतिहाई भूभाग जलमग्न छ। बाढीबाट विशेषगरी बलुचिस्तान, दक्षिणमा बलुचिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्तहरू प्रभावित छन्।
बाढीले १४ लाख ६८ हजार ९१ घरहरु आंशिक वा पूर्ण रुपमा क्षेतिग्रस्त भएका छन् भने ७ लाख ३६ हजार ४५९ पशुचौपाय मारिएका छन्। आन्तरिक विस्थापनका कारण अहिले बलुचिस्तान, खैबर पख्तुनख्वा, सिन्ध र पञ्जाबमा ५ लाखभन्दा बढी मानिस राहत शिविरमा बसिरहेका छन्।