काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय सेनाका केन्द्रीय कमान्डका लेफ्टिनेन्ट जनरल अनिंद्य सेनगुप्ताले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग आज भद्रकालीस्थित सैनिक मुख्यालयमा भेटवार्ता गरेका छन्।
हिजो काठमाडौं आइपुगेका सेनगुप्ताले आफ्नो दुईदिने भ्रमणको क्रममा नेपाली सेनाको शीर्ष नेतृत्वसँग भेट गर्दै द्विपक्षीय सैन्य सहयोगका पक्षहरूबारे विस्तृत छलफल गरेका हुन्। बैठकमा सीमा सुरक्षा, तालिम आदान–प्रदान, प्राविधिक सहयोग तथा दुवै देशका सेनाबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा कुराकानी भएको स्रोतले बताएको छ।
नेपाली सेनाका अनुसार भारतीय सेनाको यो औपचारिक भ्रमणले दुई देशबीचको सैन्य सम्बन्धमा नयाँ ऊर्जा थप्ने तथा आपसी विश्वास र मित्रतालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। जनरल सेनगुप्ताका अन्य औपचारिक कार्यक्रमहरू पनि भ्रमण अवधिभर जारी रहनेछन्।