काठमाडौँ - घरेलु टोली भारतविरुद्धको महिला टी-२० सिरिजको चौथो खेलमा अस्ट्रेलिया ७ रनले विजयी भएको छ। योसँगै उसले १ खेल अगावै सिरिज जितेको हो। अस्ट्रेलिया पहिलोमा ९ विकेट र तेस्रो खेलमा २४ रनले विजयी भएको थियो। चौथो खेलमा पराजित हुँदै भारतले भने सिरिज जोगाउन सकेन।
गएराति सम्पन्न चौथो खेलमा अस्ट्रेलियाले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान हरमनप्रीत कौरले ४६, विकेटकिपर ऋचा घोषले अविजित ४०, देविका वैद्यले ३२, शफाली वर्माले २०, स्मृति मान्धनाले १६ र दिप्ती शर्मा अविजित १२ रन बनाएका थिए।
अस्ट्रेलियाका लागि अलाना किंग र एश्ले गार्डनरले सर्वाधिक २/२ विकेट लिएका थिए। त्यसअघि मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो। उसका लागि अलराउन्डर एलिस पेरीले अर्धशतकीय पारी खेलिन्।
४२ बलको सामना गरेकी उनले ७ चौका र ४ छक्कासहित अविजित ७२ रन बनाइन्। पेरीले अघिल्लो खेलमा पनि अर्धशतकीय पारी खेलेकी थिइन्। त्यस्तै, एश्ले गार्डनरले ४२ र ग्रेस ह्यारिसले अविजित २७ रन जोडेका थिए। कप्तान एलिसा हेली ३० रनमा रिटायर्ड हर्ट भइन्। भारतका लागि दिप्ती शर्माले २ र राधा यादवले १ विकेट लिएका थिए।
यो जितसँगै ५ खेलको सिरिजमा अस्ट्रेलियाले ३-१ को अग्रता लिएको छ। भारत र अस्ट्रेलियाबीचको अन्तिम खेल मंगलबार हुनेछ।