काठमाडौँ - पूर्व सभामुख तथा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्बाङले आगामी नोभेम्बरमा हुने कतार फिफा विश्वकप अर्जेन्टिनाले जित्ने विश्वास व्यक्त गरेका छन्।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ फुटबलका फ्यान हुन्। राजनीतिमा जतिसुकै व्यस्त भएपनि उनी देशदेखि विदेशसम्मका महत्वपूर्ण खेलहरु नछुटाइकन हेर्ने प्रयास गर्छन्। फुटबलका फ्यान भएकै कारण नेम्वाङ सार्वजनिक रुपमा बेलाबेलामा फुटबलको चर्चा गरिरहन्छन्।
नेम्बाङ अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीका समर्थक हुन्। शुक्रबार नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै नेम्बाङले आफू मेस्सी र अर्जेन्टिनाको शुभचिन्तक रहेको र अर्जेन्टिनाले विश्वकप जित्नेमा विश्वास रहेको बताएका छन्।
‘यो वर्ष अर्जेन्टिनाले, मेस्सी विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ’ नेम्बाङले भने।
यस्तै उनले विश्वकप आफ्नो घरमा या सकेसम्म कतारमै पुगेर हेर्न बताएका छन्। ‘कतारमा चार महिनापछि हुने फुटबल तपाईं हामी, आआफ्नो घरमा बसेर होस् या यहि बसेर होस्। सकिएछ भने कतार पुगेर होस्, हेरौला।’
यस्तै उनले आफू अहिले खेल्ने अवस्थामा नरहेपनि राति उठेर युरोपेली लिग हेर्दै आएको बताउँदै हाल मेस्सी बार्सिलोना छोडेर फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पीएसजी) गएकाले बार्सिलोनाभन्दा पीएसजीको खेल हेर्न थालेको प्रतिक्रिया दिए।
‘आजकाल आफैँ खेल्न नसक्ने भएपनि १२–१ बजे फुटबल हेर्छु। इंग्लिस प्रिमियर लिग, ला लिगा’ उनले भने।
‘मेरो आचकाल सारै मन पर्ने खेलाडी पीएसजी गयो। पीएसजी पुगेको हुँनाले बार्सिलोनाको हेर्न छोडेको छु। अर्जेन्टिना र पीएसजीको खेल हेर्छु’ उनले भने।