काठमाडौँ - हरेक किसिमको क्यान्सर रोेगको उपचार नेपालमै सम्भव भएको हुँदा त्यसको पहिचान, पहिचानपछि उपचारको सुरुआतमा ढिलाइ गर्न नहुने क्यान्सर रोग विशषज्ञले सुझाव दिएका छन्।
लायन्स क्लब अफ भैरहवा ग्रीनसिटी र नेपाल बालकल्याण संस्थाको आयोजना तथा नेपाल क्यान्सर सहयोग समूहको प्राविधिक सहयोगमा अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा भैरहवामा आज आयोजित सचेतना कार्यक्रममा विज्ञहरुले उक्त सुझाव दिएका हुन्। कार्यक्रममा बाल क्यान्सर रोग विशषज्ञ डा. अञ्जली पण्डितले भने, “क्यान्सर धनी गरिब जोसुकैलाई हुनसक्छ, भोलिका दिनमा मलाई पनि हुनसक्छ, तपाईलाई पनि हुनसक्छ, क्यान्सर भयो भन्दैमा आत्तिने होइन, त्यसको उपचारमा लागि हाल्नुपर्छ, उपचारका लागि नेपालमै सम्भव छ, विदेश जानु जरुरी छैन।”
बोनम्यारोको ट्रान्सप्लान्ट गर्ने नेपालकै पहिलो विशषज्ञ चिकित्सकसमेत रहनुभएका डा पण्डितले नङ र कपालबाहेक शरीरको हरेक अङ्गमा क्यान्सर हुनेसमेत बताए। नेपाल क्यान्सर अस्पतालमा कार्यरत डा. पण्डितले बालबालिकामा हुने क्यान्सर रोगको सङ्केत, त्यसको उपचार विधिका बारेमा अविभावक बढी सचेत हुनुपर्नेसमेत बताए।
सिद्धार्थनगरका सामुदायिक तथा संस्थागत विद्यालयका गरी ५०० भन्दा बढी विद्यार्थी, शिक्षक तथा लायन्स लिडरको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा बालबालिकाको आँखामा हुने रेटिना ब्लास्टो क्यान्सर रोगका विशषज्ञ डा. ज्ञानेन्द्र लामिछानेले आँखामा हुने क्यान्सर रोगका बारेमा प्रस्ट्याउँदै त्यसको उपचार विधि र सङ्केतका बारेमा जानकारी दिएका छन्। त्यसैगरी, बालरोग विशषज्ञ डा राजु काफ्लेले बालबालिकालाई लाग्ने विभिन्न प्रकारका क्यान्सर रोगका बारेमा जानकारी गराए।
कार्यक्रममा नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलीप भट्टराईले प्रत्येक बालबालिकाको उपचारको हक रहेको जनाउँदै क्यान्सर पीडितको उपचार, स्याहारसुसार र सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिए।