गोरखा - हिमालको काखैमा हिमालजस्ता सुन्दर घर छन् । लाप्राकको गुप्सीपाखामा रहेको एकीकृत बस्तीमा हिउँदका तीन महिना हिउँको कलाकारिता देख्न पाइन्छ। तर नमुना बस्ती नाम दिइएका घर बाहिरबाट जति आकर्षक छन्, तिनको भित्री संरचना भने ज्यादै कमजोर छ। २०७२ सालको भूकम्प प्रभावितका लागि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले बनाइदिएका नमुना बस्तीमा धेरै प्राविधिक त्रुटि रहेको स्थानीयवासीको गुनासो छ।
निर्माण सकिएको एक वर्ष नबित्दै धेरै घरका झ्याल–ढोका काम नलाग्ने भएका छन् । प्रयोग गरिएका फलाममा खिया लाग्न थालेको छ। काठ पनि कुहिन थालेको स्थानीय मारसिंह गुरुङ बताउछन्। “बरन्डामा पानीले भिजेर फलामका खम्बा सबै खाइ (खिया) लागेको छ। काठ पनि पानीले भिजेर कुहिन थालेको छ,’’ उनले भने, “न ती खम्बामा प्राइमर (खिया र पानीबाट बचाउने रङको पहिलो पत्र) लगाइदिनुभयो, न त हामीलाई नै लगाउन भन्नुभयो। त्यो नहुँदा एक वर्षमै घर काम नलाग्ने भइसके।”
कुल ५७३ घरमध्ये करिब आधाजसोमा काठको खम्बा हालिएको छ भने आधा घरमा फलाम प्रयोग गरिएको छ। सम्झौताअनुसार काठ उपलब्ध नभएपछि बाँकी घरमा फलाम प्रयोग गरिएको वडाध्यक्ष राज गुरुङले बताए। ग्रामीण भेगका भुइँघरमा पनि प्लास्टिकका झ्याल–ढोका राखिदिँदा स्थानीयवासीले दुःख पाएका छन्। कतिपयले फेरेर काठका झ्याल–ढोका हालेका छन्, नसक्नेलाई चोरको डर छ।
“राति सुत्दा पनि झ्याल–ढोका फोडेर चोर आउँछ कि भनेर डर लाग्छ,” घर नम्बर एल–३७ की रीतिमाया गुरुङले भनिन्। जस्ता पनि कमसल रहेको उनको अनुभव छ। “कसैले एउटा सानो ढुङ्गाले हान्यो भने पनि फुट्ने रैछ,’’ उनले भनिन्, “फलाम खिया लाइसक्य। राम्रो भए पनि नभए पनि यहीँ बस्नुप-यो। अन्त जाउँ ठाउँ छैन।”
अधिकांशले पुरानै ठाउँमा आफैँले घर बनाएका छन्। लाप्राकको पुरानो गाउँमा घर बनाउन नसक्ने र जग्गा–जमिन नभएका करिब २० घरपरिवार मात्र अहिले नयाँ बस्तीमा सरेका छन्। तीमध्ये पनि स्थायी रूपले बस्ने १२÷१३ घरभन्दा बढी नरहेको उनले बताइन्। यो समाचार गोरखापत्र दैनिकमा छ।