काठमाडौँ - आईसीसी विश्वकप टी-२० क्रिकेटमा आज २ वटा खेल हुने भएका छन्। अष्ट्रेलियामा जारी प्रतियोगिता अन्तर्ग आज पहिलो खेलमा आयरल्याण्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा इंग्ल्याण्ड र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ।
आयरल्याण्ड लगातार दोस्रो जितको खोजिमा हुने छ भने अफगानिस्तान पहिलो जितको खोजिमा रहेको छ। आयरल्याण्डले डिएल मेथडमा इंग्ल्याण्डलाई पराजित गरेको थियो। अफगानिस्तानले न्यूजिल्याण्डसँगको खेल रद्द भएपछि एक अंक लिएको थियो।
अफगानिस्तान र आयरल्याण्डबीचको खेल पौने १० बजे सुरुहुने छ। यसैगरी आजै दिउँसो पौने २ अष्ट्रेलिया र इंग्ल्याण्ड आमने सामने हुने छन्। घरेलु टोली अष्ट्रेलिया पहिलो खेलमा न्यूजिल्याण्डसँग पराजित भए पनि दोस्रो खेलमा श्रीलंकाविरुद्ध जित निकाल्दै प्रतियोगितामा कमब्याक गरेको छ। डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया अहिले खेलाडीलाई कोरोना भएपछि भने केही समस्यामा पनि रहेको छ।
आजको खेलमा पनि जित निकाल्दै अष्ट्रेलिया सेमिफाइनल सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुँदा इंग्ल्याण्ड पनि जित निकाल्दै बलियो दावेदारी प्रस्तुत गर्ने लक्ष्यमा छ।
अघिल्लो खेलमा आयरल्याण्डसँग डिएल मेथडमा ५ रनले पराजित भएको इंग्ल्याण्ड उक्त खेललाई भुलेर अब घरेलु टोली अष्ट्रेलियाविरुद्ध मैदानमा उत्रने छ। इंग्ल्याण्डले सुपर १२ को आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो।