काठमाडौँ - पूर्वविजेता थ्री स्टार क्लब सहिद स्मारक ए डिभिजन लिगको १३औँ खेलमा हारबाट जोगिएको छ। सातदोबाटोको एन्फा कम्प्लेक्समा शुक्रबार खेलकै अन्तिम इन्जुरी समयमा मिडफिल्डर डोना थापाको गोल मद्दतमा थ्री स्टारले रेलिगेसनमा परिसकेको ब्रिगेड ब्वाइज क्लबलाई १–१ को बराबरीमा रोकेको हो। एन्फा कम्प्लेक्स खेल मैदानमा ब्रिगेडका प्रशान्त तामाङले खेलको ५६औँ मिनेटमा १–० को अग्रता दिलाएका थिए। अन्तिम इन्जुरी समयमा अन्सुमाना क्रोमाहको पासमा डोनाले बराबरी गोल फर्काउन सफल भए।
प्रशान्तले थ्री स्टारका गोलरक्षक एन्जल श्रेष्ठ र कप्तान अशोक खवासबीचको आपसी तालेमल नमिलेको फाइदामा गोल गरेका थिए। बराबरीसँगै थ्री स्टारले लिगमा १३ खेलबाट १९ अंक जोडेर छैटौँ स्थानमा लिगको अन्त्य गरेको छ। थ्री स्टार लिग इतिहासमा पहिलोपटक शीर्ष चारभित्र पर्न नसकेको हो। ब्रिगेडले १३ खेलबाट सात अंक बनाएको छ। ब्रिगेड लिगको १३औँ स्थानमा छ। लिग इतिहासमा ब्रिगेडले सबैभन्दा कम अंक यस सिजनमा बटुलेको हो।
यसैगरी, जावलाखेल युथ र संकटा क्लबबीच १–१ को बराबरी भएको छ। जावलाखेलका सुनील खड्काले अग्रता गोल गरेका थिए। संकटाका उत्तम राईले बराबरी गोल फर्काए। खेलको १४औँ मिनेटमा सुनीलले जावलाखेललाई १–० को अग्रता दिलाए। ६१औँ मिनेटमा उत्तमले संकटालाई १–१ को बराबरीमा ल्याए। संकटाले लिगमा १३ खेलबाट तीन जित, सात बराबरी तीन हार सामना गरी १६ अंक जोड्यो। जावलाखेलले १३ खेलबाट तीन जित, पाँच बराबरी र पाँच हार निकाली १४ अंक जोड्यो।