मंसिर १९ । रूस–युक्रेन युद्धबारे नयाँ अभिव्यक्ति दिँदै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्र ‘जुनसुकै हालतमा’ आफ्नो नियन्त्रणमा ल्याउने अडान दोहोर्याएका छन्। भारत भ्रमणमा रहेका पुटिनले भारतीय अनलाइन पत्रिका इन्डिया टुडेसँगको अन्तर्वार्तामा डोनबास कब्जा आफ्नो अपरिहार्य लक्ष्य भएको बताए।
पुटिनका अनुसार डोनबास आफ्नो नियन्त्रणमा आएपछि मात्र युद्ध अन्त्यको बाटो खुल्नेछ।
उनले भने, “आक्रमण वा अन्य कुनै माध्यमबाट भए पनि हामी डोनबासमा नियन्त्रण कायम राख्छौँ। सैन्य अभियानका लक्ष्य पूरा नभएसम्म युद्ध समाप्त हुँदैन।”
उनको पछिल्लो अभिव्यक्तिले अमेरिका नेतृत्वको शान्ति प्रयास प्रतिफल नआउने संकेत गरेको विश्लेषकहरू बताउँछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रारम्भिक चरणमा राखेको प्रस्तावमा रूसको दाबीअनुसारका भूभागहरू उसैलाई मान्यता दिने संकेत थियो। तर युरोपेली देशहरूको चर्को आलोचना पछि अमेरिकाले हाल कायम रहेको नियन्त्रण रेखालाई आधार बनाएर समाधान खोज्ने सुझाव दिएको थियो।
ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ज्वाँइ ज्यारेड कुश्नर मस्को पुगेर वार्तामा जुटे पनि रूसले डोनबासबारे आफ्नो कठोर अडान नफेरेपछि छलफल निष्कर्षविहीन बनेको थियो।
डोनबास किन महत्त्वपूर्ण?
रूसले सन् २०१४ मा क्राइमिया कब्जा गरेपछि पूर्वी युक्रेनको रूसी भाषी बाहुल्य क्षेत्र डोनबासलाई निरन्तर लक्ष्य बनाउँदै आएको छ।
-
लुहान्स्कको अधिकांश भाग रूसको कब्जामा छ।
-
दोनेत्स्कको झन्डै २० प्रतिशत भूभाग भने अझै युक्रेनको नियन्त्रणमा छ।
सैनिकरूपमा बलियो किल्लाबन्दी, रणनीतिक उद्योग, कोइला–फलाम खानी, प्रमुख रेलमार्ग र बन्दरगाहहरू भएकाले डोनबास युक्रेनका लागि अत्यन्तै संवेदनशील मानिन्छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो भूभाग कुनै पनि सर्तमा नदिने अडान दोहोर्याउँदै आएका छन्। उनी भन्छन्— “दशौँ हजार सैनिकले जोगाएको भूमि रूसलाई दिनु राष्ट्रघात हुनेछ।”
युद्धको प्रतिष्ठाको प्रश्न
डोनबासको मुद्दा केवल भूगोलको नभई रूस र युक्रेन दुवैका लागि ‘इज्जत’ र ‘राष्ट्रवादी प्रतिष्ठा’को विषय बनेको छ।
-
पुटिनले रूसी भाषीको सुरक्षा भन्दै डोनबास कब्जा अभियानलाई राष्ट्रवादी मुद्दा बनाइरहेका छन्।
-
युक्रेनले दश वर्षभन्दा बढीको युद्ध लडेर जोगाएको भूभाग कुनै पनि हालतमा नछोड्ने स्पष्ट सन्देश दिँदै आएको छ।
युद्धको प्रारम्भदेखि नै डोनबास सम्पूर्ण कब्जामा ल्याउन नसक्नु पुटिनका लागि ‘लाजमर्दो’ ठहरिने भएकाले उनले कठोर अडान दोहोर्याएको विश्लेषकहरू बताउँछन्।
रूस–युक्रेन युद्धको अबका चरण पुटिनको यही अडानले कता मोडिन्छ भन्नेमा अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित छ।
.png)
.png)
.png)
.png)
.png)
.png)
.png)

