काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानले विविधतासहितको एकतालाई राष्ट्रिय मेरूदण्डका रूपमा आत्मसात् गरेको बताएका छन्।
नयाँ वर्षको शुभारम्भका रूपमा तमु (गुरुङ) समुदायले विशेष महत्त्वका साथ मनाउने तमु ल्होसारको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले देश तथा विदेशमा रहेका तमु समुदायका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरे।
शुभकामना सन्देशमा उनले नेपाल विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराले सम्पन्न मुलुक भएको उल्लेख गर्दै यही विविधताले विश्वमा नेपालको विशिष्ट पहिचान स्थापित गरेको बताए।
“हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ। यही विविधताले विश्वमा नेपालको अलग्गै पहिचान बनाएको छ। तमु ल्होसार पर्वले गुरुङ जातिको लोकसंस्कृतिको संरक्षण र विकासमा महत्वपूर्ण भूमिका खेलेको छ,” अध्यक्ष दाहालले भने।
उनले तमु ल्होसारजस्ता मौलिक चाडपर्वहरूले नेपाली समाजमा सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउन उल्लेखनीय योगदान पुर्याउने पनि बताए।