कलंकी-बसुन्धरा खण्डको काम अब अघि बढ्ने

चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–बसुन्धरा खण्ड (८.२ किलोमिटर लम्बाइ) विस्तारको काम अब अघि बढ्ने भएको छ। चिनियाँ पक्षले उक्त खण्डको काम चाँडै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। नेपालका लागि चीनका राजदूत चेन सङले बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग भेट गरी कलंकी–बसुन्धरा खण्डको काम चाँडै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार चिनियाँ पक्षले यतिबेला चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–बसुन्धरा खण्डको डिजाइनको काम सुरु गरेको छ। ‘डिजाइनको काम सक्न तीनदेखि चार महिना लाग्छ। त्यसको तीनदेखि चार महिना ठेक्काको काममा समय लाग्छ। त्यसैले अबको करिब आठ महिनापछि काम अघि बढाउने चिनियाँ पक्षले प्रतिबद्धता व्यक्त गरेको छ।’

कलंकी–बसुन्धरा खण्ड विस्तार गरी आठ लेनको बनाउन पाँच वर्षअघि सन् २०१९ मा नै नेपाल र चीनबिच सम्झौता भएको थियो तर ६ वर्षसम्म पनि विस्तारको काम अघि बढ्न सकेको थिएन।

सडक विभागका अनुसार कलंकी–बसुन्धरा खण्डको सडक विस्तारको सबै खर्च आफैंले बेहोर्ने चिनियाँ सरकारले जनाएको छ। यसमा नेपाल सरकारले सहमति जनाएको छ। सडक विभागका एक कर्मचारीका अनुसार कलंकी–बसुन्धरा सडकलाई आठ लेनको बनाउन चार अर्ब रूपैयाँको हाराहारीमा बजेट लाग्ने अनुमान छ। ‘यो काम विभागले आफैं पनि गर्न सक्थ्यो तर यो विषय दुई देशको सम्बन्धको विषय भएकाले हामीले यति लामो समय चिनियाँ सरकारको निर्णय पर्खेर बसेका थियौं,’ उनले भने।

ती कर्मचारीका अनुसार चिनियाँ सरकारले सुरुमा नेपाल सरकारले साइट क्लियर नगर्दासम्म काम अघि नबढाउने अडान राखेको थियो। ‘त्यसअनुसार साइट पनि क्लिएर ग¥यौं। त्यस क्षेत्रमा रहेका केही मठमन्दिर पर सा¥यौं। तर पनि काम अघि बढेन।’ अहिले सडक विभागले आफ्नै खर्चमा कलंकी–बसुन्धरा खण्डमा दुवैतिर सर्भिस लेन बनाएको छ।

चिनियाँ पक्षले विस्तारको काम अघि बढाउन ढिलोे गर्दा त्यस क्षेत्रका जनताले हैरानी बेहोरिरहनुपरेको छ। अहिले त्यस क्षेत्रमा धुवाँधुलोले यात्रा निकै कष्ठकर बनाएको छ । पोहोर साल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले कलंकी–बसुन्धरा सडक विस्तारको काम अघि नबढ्दा त्यस क्षेत्रका बासिन्दालाई धुवाँधुलाले निकै कष्टकर बनाएको भन्दै सडक विभागकै कार्यालयअगाडि एक ट्रक धुलो फालिदिएका थिए। यसैबिच मन्त्री दाहाल र चिनियाँ राजदूतबिच भएको भेटमा बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेंसी–रसुवागढी सडक तथा सिमा पुल निर्माणलगायत विषयमा छलफल भएको थियो।

भेटका क्रममा क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणमा चिनियाँ पक्षले चासो देखाएको छ। मन्त्रालयका अनुसार सीमापुल भएको स्थान जति सक्दो छिटो अस्थायी पुल बनाउन चिनियाँ पक्षबाट प्रतिबद्धता आएको छ।

यसैगरी उक्त भेटघाटमा चिनियाँ सहयोगमा सञ्चालित अन्य आयोजनाहरू टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, खाँदबारी–किमाथांका सडकलगायत विषयमा पनि छलफल भएको थियो। भेटपछि मन्त्री दाहालले नेपालको विकासमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए। छलफलमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले बाढी क्षतिग्रस्त बनाएको सीमापुल रहेको स्थानमा दसैंअघि नै पुल निर्माण हुने अपेक्षा चिनियाँ पक्षसँग राखेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×