काठमाडौँ - आइतबार प्रिमियर लिगमा चेल्सी र टोटनहमको खेलमा मैदानमा नै भिड्न पुगेका दुई टोलीका प्रशिक्षक थोमस टुकल र एन्टोनियो कोन्टेमाथि एफएले कारबाही प्रक्रिया अघि बढाएको छ।
२ जना प्रशिक्षकले खेलमा रातो कार्डसमेत पाएका थिए। उनीहरूलाई अगस्त १८ सम्म सफाइ पेस गर्ने मौका दिइएको छ। त्यस्तै, एफएले टुकलले खेलपछि रेफ्री एन्थोनी टेलरमाथि लगाएको आरोपको बारेमा पनि अनुसन्धान सुरु गरेको छ। जर्मन प्रशिक्षकले टेलर अब आइन्दा चेल्सीको खेलमा रेफ्री बन्न नहुने बताएका थिए।
स्पर्सले पहिलो गोल गर्दा टेलरले रोड्रिगो बेन्टान्करले काई हाभर्टजमाथि फल गरेको नदेखेकोमा टुकल रुष्ट बनेका थिए। यस घटनाले २ प्रशिक्षकबीच भनाभन भएको थियो। जसमा दुवैले पहेँलो कार्डसमेत पाएका थिए।