काठमाडौँ - ऋषभ शेट्टी अभिनित फिल्म ‘कान्तारा’ ले दिन प्रतिदिन नयाँ रेकर्ड बनाइरहेकोछ। फिल्मले विश्वभर राम्रो व्यापार गरिरहेको छ। फिल्म कन्नड उद्योगको तेस्रो धेरै कमाउने फिल्मसमेत बन्न सफल भएको छ।
कमाईको हिसाबले कान्तारा कन्नड फिल्ममा केजीएफ र केजीएफ २ भन्दा मात्र पछाडि छ। रिलिज भएको २० दिनमा विश्वभर १७१.४१ करोड कमाएर कान्ताराले सबैलाई चकित बनाएको थियो।
कान्ताराले कमाइको मामलामा कन्नड फिल्म उद्योगका ठूला फिल्मलाई समेत पछाडि पारेको छ। यसले विक्रान्त रोना, जेम्स र ७७७ चार्ली जस्ता फिल्मलाई पछाडि पारेको हो। आम्दानीको रफ्तार यहि गतिमा रहे आगामी दिनमा केजीएफको रेकर्ड समेत तोड्ने अनुमान गनर्ज सकिन्छ।
कन्नड भाषामा फिल्म राम्रो भएपछि निर्माताले यसलाई अन्य भाषामा रिलिज गरेका थिए। जसको नतिजा निकै शानदार आइरहेको छ। फिल्मले हिन्दी भाषामा मात्र ४ दिनमा १० करोड कमाएको छ भने हिन्दी बाहेक तमिल र तेलुगुमा पनि फिल्म रिलिज भएको छ। अब यो फिल्म छिट्टै २०० करोड क्लबमा सामेल हुने अनुमान छ।