काठमाडौँ - हाल प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ४’की नायिका मिरुना मगरले आफूमाथि दुर्व्यवहार भएको बताएकी छिन्।
काठमाडौँको सिभिल मलमा आइतबार साँझ एक युवकले पछाडिबाट अस्वाभाविक रुपमा छोएको भन्दै उनले प्रहरी वृत्त, जनसेवामा अभद्र व्यवहारको कसूरमा जाहेरी दिएकी छिन्।
उनको जाहेरीको आधारमा प्रहरीले मुगु घर भएका फुर्वा लामालाई पक्राउ गरेर हिरासतमा राखेको छ। एक प्रहरी अधिकृतले भने, ‘सोमबार उनीमाथि अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट म्याद लिने तयारी भएको छ।’
प्रत्यक्षदर्शीहरुले मिरुनाले ती युवकलाई झापड हानेको पनि बताएका छन्। ‘पछाडिबाट अस्वाभाविक रुपमा उनले पटकपटक छोएको मिरुनाको भनाइ छ, ’ प्रहरी स्रोत भन्छ, ‘के भएको हो भन्ने थप अनुसन्धान गरिरहेका छौं।’
पक्राउ परेका व्यक्तिले चाहिं ‘भीडमा भुलबस छोइएको’ दाबी गरेका छन्।