काठमाडौँ - भीमनिधि तिवारीको कथामा आधारित फिल्म ‘झिंगेदाउ’को प्रदर्शन मिति सरेको छ। अब यो फिल्म भदौ १७ गतेबाट प्रदर्शन हुने भएको छ। निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन्। यसअघि यो फिल्म भदौ ३१ गते ‘बाबरी’सँग जुध्ने तयारीमा थियो।
‘झिंगेदाउ’ प्रि-पोन्ड हुँदा बाबरीलाई राहत मिलेको छ। ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा केकी अधिकारी, आँचल शर्मा र मुकुन भुसालको मुख्य भूमिका रहेको छ। पहिलोपटक ‘झिंगेदाउ’ निर्माणमा अन्तर्राष्ट्रिय रुपमा चर्चित सिनेम्याटोग्राफर विष्णु कल्पितले लगानी गरेका छन्। उनी निर्देशित फिल्म ‘गड्स बेफेलो’ले किम्फसहितका फेस्टिभलमा अवार्ड जितेको छ।
डकुमेन्ट्री निर्माणबारे हौसिएर कल्पित फिल्म निर्माणमा आएका हुन्। उनको कम्पनी फिल्म क्रु नेपालले निर्माणमा कपनगढी सिनेमासँग सहकार्य गरेको छ। छायांकन निर्देशन पनि कल्पितले नै गरेका छन्। फिल्ममा पटकथा तथा संवाद प्रदीप भारद्वाजको छ।