काठमाडौँ - खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ अध्यक्ष पंकज नेम्वाङलाई ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। खेलाडी संघले खेलाडी र मुख्य प्रशिक्षकबीचको प्रकरणमा छानबीन समितिले बुझाएको १ बुँदालाई कार्यान्वयन गर्न पनि जोड दिइएको छ।
छानबीन समितिले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीको विकल्प खोज्न प्रतिवेदनमा सुझाव उल्लेख गरिएको थियो। यही सुझावलाई आधार बनाएर खेलाडी संघले छिट्टै एन्फाले यसको कार्यान्वयन गर्न अनुरोध गरेको छ। हाल प्रशिक्षक अल्मुताइरी छुट्टीमा रहेका छन्।
एसियन कप छनोट खेल्नुअघि बन्द प्रशिक्षण वरिष्ठ खेलाडीले छाडेपछि प्रशिक्षक र खेलाडीको विवाद चुलिएको थियो। उक्त बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका थिए। एन्फामा नयाँ नेतृत्व आएपछि ती बाहिरिएका खेलाडीलाई राष्ट्रिय टोलीमा फिर्ता लिने निर्णय गरेको छ।
यस विषयमा खेलाडी संघले नयाँ नेतृत्वको एन्फालाई धन्यवाद पनि दिएको छ। साथै, खेलाडी संघले खेलाडीको बिमा र स्वास्थ्य उपचारका लागि उचित प्रबन्ध गर्नुहुन पनि ध्यानाकर्षण पत्रमा समेटिएको छ। अन्य बुँदामा खेलाडीलाई वर्षभरि व्यस्त गर्न प्रतियोगिता आयोजना गर्नु पर्ने, खेलाडीलाई विदेश जान रोक्न एन्फाले सकारात्मक कदम चाल्न अनुरोधसमेत गरिएको छ।