कोभिड–१९ को महामारीका कारण अर्थतन्त्रले गति लिन नसक्दा मुलुकले रु. दुई खर्ब ४७ अर्ब तीन करोड शोधनान्तर घाटा व्यहोरेको छ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८-२०७९ को सात महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.९७ अर्ब ३६ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको छ। समीक्षा अवधिमा चालु खाता रु.चार खर्ब १३ अर्ब ८६ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. एक खर्ब ४ अर्ब ३९ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड २१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा तीन अर्ब ४७ करोडले घाटामा रहेको छ।
केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट विस्तारित ऋण सुविधामा रु. १३ अर्ब आठ करोड प्राप्त भएको छ। यसअवधिमा पूँजिगत ट्रान्सफरमा १९.४ प्रतिशत घटेर रु. छ अर्ब ३१ करोडौं कायम भएको छ भने खुद वैदेशिक लगानीमा ८०.६ प्रतिशतको उत्साहजनक प्राप्ति भएको छ। वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.९७ प्रतिशत रहेको भने आयात ४२.८ प्रतिशतले र निर्यात ८८.३ प्रतिशतले बढेको छ। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.९ प्रतिशत र अमेरिकी डलरमा ५.८ प्रतिशतले घटेको छ।
कुल विदेशी विनिमय सञ्चिति रु नौ अर्ब ७५ करोड अमेरिकी डलर रहेको छ। सङ्घीय सरकारको खर्च रु.पाँच खर्ब ९१ अर्ब दुई करोड र राजस्व परिचालन रु. छ खर्ब १३ अर्ब ४१ करोड रहेको बैंकले बताएको छ।