काठमाडौँ - काठमाडौँमा ‘सुमित खड्का देशको आवाज ३’ एकल सांगितिक साँझ आज आयोजना हुँदैछ। काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गायक खड्काको एकल सांगितिक साँझ हुने भएको हो।
स्पार्क एडभरटाइजिङ प्रालीले आयोजना गरेको कार्यक्रममा खड्काले देशभक्तिपूर्ण राष्ट्रिय भावनाले ओतप्रोत आफ्ना १८ बढी गीतहरू प्रस्तुत गर्नेछन्। नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव, नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली लगायत अतिथिको रुपमा उपस्थिति रहने कार्यक्रमको नारा ‘विश्व शान्तिका निम्ति संगीत’ भन्ने रहेको छ।
करिब १ सय भन्दा बढी राष्ट्रमा आफ्नो कार्यक्रम प्रस्तुत गरिसकेका खड्काले कार्यक्रममा हामी पहिले नेपाली, राजनीति भनेको, म हुँ एउटा देश, हिमाल हेरेर, आयो गोर्खाली, वीरको छोरो नेपाली लगायत गीत प्रस्तुत गर्ने आयोजकले जनाएको छ।