घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए अब ५ सय जरिवाना हुने

काठमाडौँ - राजधानी काठमाडौंमा फोहोर फ्याँक्नुअघि घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने बाध्यकारी व्यवस्था लागु हुने भएको छ। त्यसो नगरे प्रत्येकपटक ५ सय रुपियाँ जरिवाना हुने काठमाडौं महानगरपालिकाले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले कामपालाई दुई फरक प्रकृतिको फोहोर छुट्टाछुट्टै व्यवस्थापन गर्न निर्देशन दिएपछि कामपाले सो व्यवस्था लागु गर्न लागेको हो।

कामपा वातावरण विभागले हिजो बिहीबार सार्वजनिक सूचना जारी गरी फोहोर पृथकीकरण गरी कुहिने फोहोर संकलन गर्न आउने बार जैविक अर्थात् कुहिने फोहोर र नकुहिने फोहोर संकलन गर्न आउने बार प्लास्टिकलगायतका नकुहिने फोहोर संकलन गर्ने जनाएको छ।
कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले वैशाख १ गतेबाट वडा नम्बर १० मा यो व्यवस्था लागु भइसकेको जानकारी दिँदै  भने– ‘हामीले हिजोबाट प्रक्रिया शुरू गरेका छौँ, यो महिनासम्म सूचना, माइकिङसहित प्रचारप्रसार हुनेछ, जेठबाट सबै वडामा लागु गर्नेछौं । स्रोतमै फोहोरको वर्गीकरण नगरे जेठ १ गतेबाट जरिवाना तिराउन शुरू गर्नेछौँ ।’
विभागले आइतबार, मंगलबार र शुक्रबार नकुहिने फोहोर संकलन गरिने जनाएको छ । त्यसै गरी सोमबार, बुधबार र बिहीबार कुहिने फोहोर संकलन गर्ने व्यवस्था गर्न लागिएको विभागले जनाएको छ ।
सर्वोच्च अदालतले १० वर्षअघि वर्गीकरण गरेर मात्रै फोहोर विसर्जन गर्ने व्यवस्था गर्न कामपालाई निर्देशनात्मक आदेश दिएको थियो। आदेशपछि केही महिना फरकफरक बारमा दुई प्रकारको फोहोर जम्मा गरी व्यवस्थापन गर्ने व्यवस्था शुरू गरेको थियो।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×