काठमाडौँ - महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको आयोजनाको जिम्मेवारी नेपाल भलिबल संघले प्रतिस्पर्धा विना नै नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स कम्पनी (एनएसइएम)लाई दिएको खुलेको छ। पछिल्लो समय नेपाली खेलकुदमा सार्वजनिक खरिद ऐन बिपरित क्रिकेटको फ्रेन्चाइजी लिग बेचेको चर्चा चलिरहेको समयमा भलिबल लिग पनि प्रतिस्पर्धा बिना नै बेचेको खुलेको हो।
नेपाल भलिबल संघले दश वर्षसम्मका लागि एनएसइएमलाई जिम्मेवारी दिएको थियो। फ्रेन्चाइजी लिगको आयोजनाको जिम्मेवारी लिएको एनएसइएमले वार्षिक रुपमा एनभीए लिग आयोजना गर्न ३० लाख रुपैया दिने बताएको थियो। एनएसइएमले नेपाल भलिबल संघलाई भलिबल लिगबाट नाफा भएको ३० प्रतिशत दिने बताएको थियो। पहिलो पटक फ्रेन्चाइज फम्र्याटमा आयोजना हुन लागेको प्रतियोगितामा महिला तथा पुरुष दुबैको प्रतियोगिता हुने भएको हो।
एनएसइएमका सीईओ सुदिप शर्माले आफूहरुले पहिलो पटक आयोजना भएको प्रतियोगिता भएकाले भलिबललाई सहयोग पुग्ने ढंगले लिएको बताएका छन्।
‘दश वर्षसम्म भलिबलको विकास गर्ने हिसवाले लिएका हौं। यसमा प्रतिस्पर्धा भन्ने कुरा थिएन। पहिलो पटक हुन लागेको प्रतियोगिता भएकाले हामीले चासो देखाएका हौं,’ शर्माले भने।
यता नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले आफूहरुले प्रतिपर्धा बिना नै एनएसइएमलाई प्रतियोगिताको आयोजना गर्न दिएको बताएका छन्। पहिलो पटक आयोजना हुने प्रतियोगिता भएकाले प्रतिस्पर्धा गर्ने कुरा नभएको उनको भनाई रहेको छ।
‘प्रतिस्पर्धा बिना नै प्रतियोगिता दिएका हौं। पहिलो प्रतियोगिता भएकाले हामीले प्रतिस्पर्धा गरेनौं,’ उनले भने।
एनएसइएम चौधरी ग्रुप अन्तर्गतकै खेलकुद म्यानेजमेन्टको संस्था हो। एनएसइएमकै आयोजनामा नेपाल सुपर लिग फुटबल प्रतियोगिता आयोजना हुँदै आएको हो।