काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटाले घुँडा टेक्ने कुरै नभएको बताएका छन्। उनले सभामुखको पक्षमा एकीकृत समाजवादी पार्टी दृढतापूर्वक उभिने बताए। “सभामुखले खुरुक्क राजीनामा दिने ? यो कुरा केपी ओलीले नचिताए हुन्छ”, उनले भने, “हामी सभामुखको पक्षमा दृढतापूर्वक उभिन्छौँ।”
सभामुखले संसद् र सांसदहरुको अधिकारको रक्षा गरिरहनुभएको उनको टिप्पणी थियो। सभामुखमाथि अनुचित आरोप नलगाउन पनि उनले एमालेलाई चेतावनी दिए। “सभामुखप्रति अपमानजनक व्यवहार गर्ने, सभामुखको गरिमाको रक्षा गर्नुपर्दैन?”, प्रश्न गर्दै अध्यक्ष नेपालले भने, “एमालेको यो प्रवृत्ति गलत छ।”