काठमाडौँ - खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित मानवअधिकार चोकबाट किराँत चोकसम्मको सडक गत वर्षमात्रै ढलान गरिएको भए पनि त्यहाँका सडकहरू जीर्ण बन्दै गएका छन्।
उक्त सडकखण्डको विभिन्न ठाउँमा अहिले सहरी खानेपानी तथा सरसफाइ आयोजनाका ठेकेदारले ढलान काटेर खानेपानी विस्तारको काम भइरहेको छ। ढलान गरिएको सडकमा पारिएको खाल्डाखुल्डीले सवारीसाधन तथा पैदलयात्रुलाई समेत आवतजावतमा समस्या भएको छ। ढलान गरेर सञ्चालनमा ल्याइएको दिक्तेल बजारको सडकमा प्रयोग गरिएका रड काटेर खानेपानी आयोजनाको काम गर्दा कतिपय ठाउँमा पैदलयात्रु तथा सवारीसाधन खाल्डोमा पर्दै आएका छन्।
ढलान गर्दा बिच्छ्याइएको रड टुक्रा पार्दै खाल्डो बनाएर खानेपानी जडान गरेपछि पुनः ढलान गर्दा ठेकेदारले बिनारड गिट्टी, बालुवा र सिमेन्टमात्रै प्रयोग गरेकाले उक्त सडक जीर्ण बन्दै गएको हो। खानेपानी आयोजनाका कारण सडक जीर्ण बन्दै गएको विषयमा कसैको ध्यान नपुगेको नेकपा (माओवादी केन्द्र)का युवानेता मिलनचन्द्र राईले आरोप लगाएका छन्। “दिक्तेल बजारको सडक ढलान यसअघि नै गुणस्तरहीन थियो”, उनले भने, “अहिले निर्माणाधीन अवस्थामा रहेको खानेपानी आयोजनाका कारण सडक झन जीर्ण बनेको छ। यसप्रति सम्बन्धित निकायको ध्यान नजाने हो भने ठूलो दुर्घटना हुने सम्भावना छ।”
भत्काइएको सडक पुनः पुरानै अवस्थामा आउने गरी आयोजनाको काम गर्न ठेकेदार कम्पनीलाई आग्रह गरिएको उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताए। “पहिले पाइप विस्तार गर्दा जडान गरिएका केही ठाउँमा समस्या देखिएको छ”, उनले भने, “पुरानै अवस्थामा आउने गरी समस्याग्रस्त ठाउँमा काम गर्न ठेकेदार कम्पनीलाई भनिएको छ।”
नेपाल सरकार सहरी विकास तथा भवन निर्माण विभागको रु. पाँच करोडको लागतमा दिक्तेल बजारस्थित किराँत चोकबाट मानवअधिकार चोकसम्मको सडक गत वर्षमात्रै ढलान गरिएको हो। क्रमागत योजनाअन्तर्गत मानवअधिकार चोकबाट हाटडाँडासम्मको बाँकी सडकमा अहिले ढलान भइरहेको छ।