लमजुङ - घरेलु तथा साना उद्योग कार्यालयमा ५२१ घरेलु उद्योग दर्ता भएका छन्। आर्थिक वर्ष २०७८/७९ को साउनदेखि पुस महिना अर्थात् छ महिनाको अवधिमा सो सङ्ख्यामा उद्योग दर्ता भएका कार्यालय प्रमुख तोपलाल भुषालले बताए। उनका अनुसार त्यस अवधिमा १८८ घरेलु उद्योगले नवीकरण गराएकामा वाणिज्यतर्फ ३१३ नयाँ दर्ता २८८को नवीकरण भएको थियो। गत आवमा ९७० उद्योग दर्ता र ३६९ उद्योग नवीकरण गरिएकामा वाणिज्यतर्फ ६४० नयाँ दर्ता र ५५८को नवीकरण भएको थियो। आव २०७६/७७ मा ६६९ नयाँ घरेलु उद्योग दर्ता भएकामा २३७ उद्योग नवीकरण गरिएको थियो ।
उद्योग दर्ता गर्दा सरकारी सेवा तथा सुविधा पाइने भन्दै स्थानीय तहले जानकारी गराएकाले दर्ता गर्ने व्यवसायी बढ्दै गएको उनको भनाइ थियो। कार्यालय प्रमुख भुषालले भने, "बेँसीसहर बजार, सुन्दरबजार, भोटेओडार, सोती पसल भोर्लेटारलगायत स्थानमा पसल बढिरहेका छन्।" दर्ता भएकामध्ये अधिकांश कृषि फार्म, सिलाइकटाइ, अलैँची, ब्यूटीपार्लर, कृषि औजार, मौरीपालन, बङ्गुर फार्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत सञ्चालनमा छन्।