इलाम । इलाम–२ को मतगणना ११ बजेपछि मात्र हुने भएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु हुनेछ । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम– २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।
यस क्षेत्रका विकट पालिकाहरुवाट मतपेटिका संकलन गरी मुचुल्का गर्दा आइतबार बिहान २ बजेको थियो । यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा रहेका छन् । यस्तै, प्रत्येक मतगणनास्थलमा एक जना उम्मेदवारको एक जना प्रतिनिधि मात्र हुनुपर्ने निर्णय भएको छ । उम्मेदवारको प्रतिनिधि हुन इलाम क्षेत्र नम्बर २ कै मतदाता हुनुपर्ने सहमति भएको छ ।