‘हामीसँग कुनैपनि टोलीलाई जित्ने क्षमता छ’: कप्तान सन्दीप

काठमाडौँ - नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले कुनैपनि टोलीसँग राम्रो क्रिकेट खेलेर जित्ने क्षमता भएको बताएका छन्। आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अमेरिका पुगेका सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन्।

‘टिम राम्रो अवस्थामा छ। यहाँ हामीले आज विहान अभ्यास गरेका थियौं। कन्डिसन एकदमै चुनौतीपूर्ण छ। नेपालमा हामीले जे सोचेर आएका थियौं। ठ्याक्कै त्यस्तै छ’, अमेरिकामा पहिलो अभ्यासपछि सन्दीपले भने।

नेपालले आइसिसी विश्वकप लिग–२ मा अमेरिका र ओमानसँग खेल्नुअघि अघि दुई अभ्यास खेल खेल्नेछ। अभ्यास खेल सन्दीप नेपालको लागि राम्रो अवसर बताउँछन्। ‘यो हाम्रो लागि राम्रो अवसर हो। राम्रो र सन्तुलित टोलीको विरुद्धमा खेल्दै छौं। दुबै जना सिजन क्रिकेट खेल्ने टोलीहरु हो। मुख्यतया अमेरिकासँग पहिलो पटक खेल्न लागेको हुँदा अभ्यास खेल हामीलाई यहाँको बातावरणसँग झिज्ने अवसर हुनेछ’, सन्दीपले भने।

‘टिम एकदमै सन्तुलित छ। हामीले शीर्षक्रमदेखि तल्लोक्रम सबैमा मिलाएका छौं। दुर्भाग्यपूर्ण हामीले एउटा तीव्र गतिका बलर मिस गर्यौ। हामीसँग विश्वस्तरिय तीव्र गतिका बलर छन्। ब्याकअप बलर पनि राम्रो छन्। स्पिनरहरु पनि उतिकै राम्रो छन्। कुनैपनि टोलीसँग राम्रो प्रतिस्पर्धात्मक क्रिकेट खेलेर जित्ने क्षमता यो टोलीसँग छ’, टिमबारे सन्दीपले भने।

तीव्र गतिका बलर विक्रम सोब ब्याक इन्जुरीको कारण गुमाएका थिए। उनको स्थानमा नेपालले स्पिनर सुशान भारीलाई समेटेको थियो। टोलीमा पछिल्लो समय प्रतिस्पर्धात्मक उच्च छ। कप्तान र प्रशिक्षकलाई प्लेइङ–११ निकाल्न सहज हुने छैन। ‘पहिला त सजिलो नै लाग्थ्यो। टिममा राम्रो प्रतिस्पर्धा बढेको छ। सबै खेलाडी क्षमता अनुसार अगाडि बढेका छन्। यो नेपालको लागि राम्रो संकेत हो। प्लेइङ–११ त्यो दिन हेरेर हुनेछ’, सन्दीपले भने।

नेपालले बिहीबार नेपाल अल स्टार्ससँग खेल्नेछ। अल स्टार्सको कप्तानी नेपाली टोलीका मध्यक्रमका ब्याटर पृथु बाँस्कोटा र अनुभवी स्पिनर बसन्त रेग्मी हुनेछन्। ‘पक्कैपनि दुई चुनौती खेलाडी आफ्नै परिवारको विरुद्ध खेल्न पाएका छौं। दुबै अनुभवी खेलाडी छन्। दुबैलाई सम्मान गर्छु। विपक्षी टोलीमा भएपछि हामीले हाम्रोतर्फ शतप्रतिशत दिने छौं। सके सम्म जित निकालेर अघि बढ्छौं’, उनले भने।

नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ। खेल अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियमा हुनेछ। नेपालले दोस्रो अभ्यास खेल शनिबार ह्युस्टन हरिकेन्ससँग अभ्यास खेल खेल्नेछ। बिहीबार नेपाल र नेपाली अल स्टार्सविरुद्धको खेल पेरिरी भ्यू क्रिकेट मैदानमा हुनेछ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।

अमेरिकामा नेपालको खेल तालिका –

जेठ २६ (जुन ९) – नेपालविरुद्ध ओमान

जेठ २८ (जुन ११) – अमेरिकाविरुद्ध नेपाल

जेठ ३१ (जुन १४) – नेपालविरुद्ध ओमान

असार १ (जुन १५) – अमेरिकाविरुद्ध नेपाल

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×